काठमाडौं महानगरपालिकाले असोज पहिलो साताबाट आठ कक्षाभन्दा माथिल्लो तहको पठनपाठनलाई भौतिक रूपले सञ्चालन गर्ने भएको छ । ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट भौतिक रूपमा कक्षा सञ्चालन गर्न विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ ।
काठमाडौँ महानगरका शिक्षा अधिकृत मोतीप्रसाद भट्टराईले स्वास्थ्य मापदण्डको पालना गर्दै आठदेखि १२ सम्मको कक्षा भौतिक रूपमा सञ्चालन गर्ने बारेमा कुराकानी भइरहेको जानकारी दिए । यस विषयमा असोज ३१ गते महानगरको शिक्षा समितिको बैठकबाट औपचारिक निर्णय गरिनेछ । दशैँअगावै तीन साताका लागि भए पनि माथिल्लो तहको कक्षा भौतिक रूपमा नै पठनपाठन गर्नु उपयुक्त हुने सुझाव विभिन्न क्षेत्रबाट आएको जनाइएको खबर गोरखापत्रमा छापिएको छ ।
उनले आसपासका स्थानीय तहले भौतिक रूपमा विद्यालय सञ्चालन गर्न थालिसकेका कारण महानगरका विद्यालयहरू पनि सोहीअनुसार सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताए । कक्षा आठभन्दा तल्लो तहको कक्षा भने तिहारपछि मात्र भौतिक उपस्थितिमा सञ्चालन हुने सम्भावना छ ।
यस्तै ललितपुर महानगरपालिकामा असा्ज १ देखि भौतिक रुपमै पठनपाठन सुरु गर्ने निर्णय भइसकेको छ ।