
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैंका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ ।
मंगलवार काठमाडौं उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो ।
छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्दै आग्रह गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । उनका अनुसार विभागले गरेको आग्रहमा मासु व्यवसायी सहमत भएर फूलपातीको दिनबाट खसीको मासुको मूल्य तोक्ने जनाएका थिए ।
कुखुराका मासु व्यवसायीले दशैंमा ३०० भन्दा बढी मूल्य नबढाउने जनाएका थिए । राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्कीले विभागमा भएको छलफलका आधारमा मासुको मूल्य तोक्ने तयारी भएको जानकारी दिए ।
विभागले पहिलो पटक यसवर्षको चाडपर्वलाई ध्यानमा राख्दै उपत्यकामा सञ्चालित मासु पसलसँगै मार्टलाई दशैंका लागि सहुलियत रूपमा खाद्यान्न सामग्रीको बिक्री वितरण गर्न आग्रह गरेको छ । विभागले नेपाल उद्योेग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघलाई आफ्ना सदस्य व्यवसायीलाई चाडपर्वमा सहुलियत रूपमा सामग्रीको बिक्री वितरण गर्न अनुरोध गरेको जनाएको छ ।
यसअघि नै विभागले ३ ठूला मार्टलाई आफ्ना बिक्री केन्द्रबाट चाडपर्वमा सहुलियत दरमा खाद्य पदार्थकोे बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागमा सोमवार भएको छलफलमा भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायतका मार्टलाई सहुलियत रुपमा खाद्य पदार्थको बिक्री वितरण गर्न आग्रह गरेको हो ।
‘सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै अन्य समयको तुलनामा चाडपर्वमा केही सहुलियत दिन हामीले आग्रह गरेका थियौं, छलफलमा सहभागी मार्टका सञ्चालकले व्यानरसहित छुट दिन सहमत हुनुभयो,’ प्रवक्ता सेढाइँले भने ।
उपत्यकामा बिगमार्टको ५७, सेल्सबेरीको २६ र भाटभटेनीको देशभर १९ वटा बिक्री काउन्टर सञ्चालनमा छन् । विभागले चार्डपर्वमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै तीव्र रूपमा बजार अनुगमनसँगै सरोकारवाला निकायसँग छलफल गर्दै आएको छ ।