
चितवनका चिकित्सक (बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार १ व्यक्ति लामो समयपछि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो ।
अपहरण तथा शरीर बन्धक कसुरमा उच्च अदालत हेटौंडा इजलासको विक्रम संवत् २०७० माघ २१ गतेको फैसलाले उनलाई ९ वर्ष कैद र ५० हजार जरिवाना सुनाएको थियो ।
तत्कालीन मुलुकी ऐन (२०२०) को अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं बमोजिम सात वर्ष कैद र सोही महलको ७ नम्बर बमोजिम २ वर्ष थप कैद गरी जम्मा ९ वर्ष कैद तोकिएको थियो ।
त्यसपछि पण्डित फरार हुँदै कहिले नेपाल त कहिले भारतमा लुकेर बसेका थिए । पछिल्लो समयमा नेपाल प्रवेश गरेको सूचना पाएपछि केही अघिदेखि सीआईबीको टोलीले उनको खोजी थालेकोमा मंगलवार पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनका लागि बुधवार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
अपहरणमा संलग्न नुवाकोटका बद्रिप्रसाद ढुंगाना, काठमाडौंका गौतम योञ्जन, भारतका रोहित पालिवाललगायत पक्राउ परिसकेका छन् । मुख्य अभियुक्त भनिएका नुवाकोटका भीमसेन पण्डित अझै फरार छन् ।
भारतमा रहेका उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । राजेन्द्र भने भीमसेनका नजिकका मान्छे हुन् । उनी डा. श्रेष्ठको अपहरणपछि राख्ने ठाउँको व्यवस्थापनमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
विक्रम संवत् २०६७ जेठ ४ गते चितवनको भरतपुर महानगरपालिका–१० साबिकको भरतपुर नगरपालिका–१० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फर्कंदै गर्दा स्थानीय हाकिमचोक नजिकको भित्री सडकबाट डा. श्रेष्ठलाई अपहरण गरिएको थियो ।