
सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।
पाँच दलीय गठबन्धनको आजको बैठकमा मुख्यगरी सरकार विस्तारबारे छलफल हुने बताइएको छ ।
गठबन्धनमध्येका एउटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
गठबन्धनमा रहेका दलहरूलाई राजनीतिक दलसम्बन्धी अध्यादेशले सरकार विस्तारमा अवरोध सिर्जना गरिरहेको छ ।
सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी दलविरुद्ध अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ ।
अहिलेकै अवस्थामा सरकार विस्तार हुँदा अर्को सहयात्री दल जनता समाजवादी पार्टी फुट्न सक्ने सम्भावना छ ।
सरकार विस्तारमा रहेका अवरोधलाई निराकरण गर्ने उपायको खोजीमा सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेको ७० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
राष्ट्र संघीय सभामा नेपालको प्रतिनिधित्व हुनुपर्ने भएकाले आज कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेर राष्ट्र संघीय सभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।