२५ असार २०८३, बिहीबार

प्रेस काउन्सिलको ५२ औँ वार्षिकोत्सव : विभिन्न क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान [तस्वीरहरू]

प्रेस काउन्सिलको ५२ औँ वार्षिकोत्सव : विभिन्न क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान [तस्वीरहरू]

राष्ट्रपति विद्यादेवी भण्डारीले आचारसंहिता पालनाबाट जिम्मेवार पत्रकारिता हुने विश्वास व्यक्त गरेकी छन्।

प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमी कमजोरीहरू आचारसंहिताको पालनाबाटै हट्दै जाने बताइन्।

उनले चुनौतीको सामना गर्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाउन काउन्सिलले खेलेको भूमिकाको प्रशंसा गरिन्।

जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिल नेपालले मिडिया अनुगमन, अनुसन्धानका साथै गैर पेसागत आचरण देखाउने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानुनी उपचारका लागि गरेको पहल सराहनीय रहेको उनको भनाइ थियो ।

नेपालको राजनीतिक परिवर्तनका लागि सञ्चार माध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रपति भण्डारीले पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न काउन्सिल अझै मजबुत हुनुपर्नेमा जोड दिइन्।

काउन्सिल प्रतिको आशा भरोसा बढाउने जिम्मा काउन्सिल स्वयंको हो भन्नेतर्फ सबैको ध्यान जानु आवश्यक रहेको भन्दै उनले काउन्सिलले प्रेस सङ्ग्रहालय स्थापना गर्न लागेकोमा खुसी व्यक्त गरिन्।

काउन्सिलको काममा शङ्का छैन : कानुनमन्त्री

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारका हक, हित र संरक्षणका लागि काउन्सिलले निष्पक्ष ढङ्गबाट काम गरिरहेको छ भन्ने कुरामा कुनै शङ्का नरहेको बताए ।

काउन्सिल मुलुकभरका श्रमजीवी पत्रकार र सञ्चार उद्यमीहरूको न्यायिक निकाय भएको भन्दै उनले सञ्चार क्षेत्रमा फैलन सक्ने विकृतिलाई निरुत्साहित गर्नका लागि काउन्सिलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

मन्त्री कार्कीले प्रेस काउन्सिल नेपाल सिङ्गो नेपाली सञ्चार क्षेत्रको अभिभावक संस्थाको रूपमा रहेको भन्दै सञ्चार क्षेत्रमा हिलो छ्याप्ने प्रवृत्तिप्रति सजक हुन जरुरी रहेको बताए ।

पत्रकारिताप्रति घट्दै गएको जनविश्वासलाई बढाउन काउन्सिल लागि परेको छ : अध्यक्ष बस्नेत

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार र पत्रकारिताप्रति घट्दै गएको जनविश्वासलाई बढाउन काउन्सिल हरतरहले लागिरहेको बताए ।

उनले पेसामा निरन्तर सक्रिय हुने, दिन रात खट्ने पत्रकारको सम्मान नहुने, अनुचित लाभ लिनेहरू मोटाउँदै जाने स्थितिबाट पत्रकार र पत्रकारिता प्रतिको जनविश्वास टुट्दै गएको भन्दै यो समस्या हटाउन काउन्सिल लगायत सम्बद्ध निकायहरूले आवश्यक पहलकदमी लिनुपर्ने टड्कारो आवश्यकता रहेकोमा जोड दिए।

अध्यक्ष बस्नेतले प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग, बिना दर्ता सञ्चालित युट्युबरको गैरपेसागत आचरणलगायतलाई नियमन गर्न नीतिगत व्यवस्थाको सुझावसहित सरकारलाई पटक पटक घच्चघचाउँदै आएको बताए ।

पत्रकार क्षमता अभिवृद्धिका लागि प्रदेश तथा जिल्लास्तरमा तालिम, अन्तरक्रिया, मिडिया संवाद, सार्वजनिक सुनुवाइ, आचारसंहिता जागरण अभियानलाई बढावा दिनुपर्ने अवस्था रहेको भन्दै उनले राज्यले यसतर्फ गम्भीर भइ काउन्सिललाई दिइने झिनो आकारको बजेटमा समेत पुनर्विचार गर्नुपर्ने औँल्याए ।

यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई

प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको गोपालदास पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको छ ।

आज काउन्सिलको ५२ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति निवास शीतलनिवासमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कोइरालालाई पुरस्कार प्रदान गरिन्।

यस्तै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’, लाई प्रदान गरिएको छ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित रू. एक लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार तथा प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा वि.सं. २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ सालदेखि वरिष्ठ पत्रकारहरूलाई दिन थालिएको हो यसवर्ष प्रेस काउन्सिल पत्रकार आचारसंहिता पुरस्कार हिमालय टाइम्स दैनिक (उज्ज्वल शर्मा), काठमाडौँलाई प्रदान गरिएको छ ।

यस्तै प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार विमल गौतम, बाग्लुङ (हालः काठमाडौँ) र दुर्गालाल के.सी., दाङले प्राप्त गरेका छन् ।

यस्तै प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार लक्की चौधरी, कैलाली (थारु भाषा) (हालः काठमाडौँ) लाई प्रदान गरिएको छ ।

यसवर्षको प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारबाट माधव नेपाल, सिन्धुपाल्चोक ( हालः काठमाडौँ), विन्दुकान्त घिमिरे, लमजुङ ( हालः काठमाडौँ), गोविन्दप्रसाद चौलागाई, रौतहट (हालः काठमाडौँ), रामानन्द गुप्ता, सिरहा, वासुदेव शर्मा “बबिन”,सिन्धुपाल्चोक (हालःकाठमाडौँ), सुशिल अर्याल, गोरखा (हालःकाठमाडौँ), रमेश ढुंगेल, रामेछाप पुरस्कृत भएका छन् ।

यस्तै प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार घनश्याम खड्का, भक्तपुर, उर्वशी बस्नेत न्यौपाने, गुल्मी (हालःकाठमाडौँ), एलपि देवकोटा, जुम्ला, जीवन सेजुवाल, मुगु, मेगराज खड्का, रुकुम, केसी लामिछाने, पर्सा, देवेन्द्र बस्नेत, दाङ, देवचन्द्र भट्ट, नुवाकोट, चुडामणि लिम्बु, झापा, भगवती थापा, गुल्मी (हालः भक्तपुर), शिवकुमार रिजाल, मकवानपुर, रमेश खतिवडा, दोलखा, जगन्नाथ दुलाल, सिन्धुपाल्चोक, तिर्थ जैसी, कैलालीलाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार रुपा गहतराज, बाँके, जमुना वर्षा शर्मा, कास्की र अञ्जु कार्की, मोरङ (हालःकाठमाडौँ)लाई प्रदान गरिएको छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार रोहित राई, सुनसरी, अनन्त अनुराग महतो, सप्तरी, करन ताम्राकारलाई प्रदान गरिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्