२१ जेठ २०८३, बिहीबार

संसदको अवरोध अन्त्य गर्न प्रधानमन्त्री देउवालाई अध्यक्ष तिमिल्सिनाको ‘रुलिङ’

असोज ८, २०७८
संसदको अवरोध अन्त्य गर्न प्रधानमन्त्री देउवालाई अध्यक्ष तिमिल्सिनाको ‘रुलिङ’
फाइल फोटो

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् ।

बिहीवारको राष्ट्रियसभा बैठक शुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि उनले रुलिङ गरेका हुन् ।

एमालेले संसद्को अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ । एमालेले प्रतिनिधिसभाका सभामुखको भेदभावका कारण आफ्नो दल विभाजन भएको र एकीकृत समाजवादीका सांसद राष्ट्रिय सभामा उपस्थित भएकाले बैठक अघि बढ्न नसक्ने तर्क गर्दै आएको छ । एमालेको अवरोधबीच राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बजेट अघि बढाएका थिए । राष्ट्रिय सभाले बिहीवार नै बजेट पारित गरेको छ ।

एमालेले लामो समयदेखि उठाएको विषयमा छलफल गर्न उनले प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन् । ‘म नेपाल सरकार, प्रधानमन्त्रीलाई यो समस्या समाधानका लागि वार्ता र सहमतिबाट अग्रसर हुन आग्रह गर्दछु,’ तिमिल्सिनाले बैठकमा रुलिङ गर्दै एमाले सांसदहरूलाई बस्न आग्रह गरे ।

तर उनीहरू बैठक अवधिभर उभिए । राष्ट्रिय सभामा एमाले सांसदहरूले रोस्टम घेराउ र नाराबाजी गरेनन् । एमाले सांसदहरूले उठाएको विषय राष्ट्रले सुनेको उल्लेख गर्दै तिमिल्सिनाले संवादबाट समाधान निकाल्न एमालेलाई पनि सुझाए ।

‘तपाईंहरूले उठाएको कुरा राष्ट्रले सुनेको छ । छलफल र संवादबाट समाधान निस्कने हो,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘छलफलको माध्यममा जाऔं । हाउस नियमित गर्दा राम्रो हुन्छ ।’

राष्ट्रिय सभाका अध्यक्षले रुलिङ गरिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवनमै भए पनि बैठकमा सहभागी भएनन् । उनी प्रतिनिधि सभाको बैठकमा भने सहभागी थिए । प्रतिनिधिसभा बैठकका सभामुख अग्नि सापकोटाले भने एमाले सांसदहरूलाई अदालतमा विचाराधीन विषय संसद्मा नउठाउन ध्यानाकर्षण गराए तर एमाले सांसदहरूले प्रतिनिधि सभामा रोस्टम घेराउ र नाराबाजी जारी राखे । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्