
म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ ।
गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरू भएको छैन । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार अधकल्चो काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
‘ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुन्छ, यात्रु र सवारीधनी हामीसँग कराउँछन्,’ उनले भने, ‘आयोजना सञ्चालन गर्ने निकाय पूर्वाधार विकास कार्यालयले बेवास्ता गरेको छ, ठेकेदार ५ महिनादेखि सम्पर्कविहीन छन्, पहिरो पन्छाएर सडक मर्मत गरी नियमित यातायात सञ्चालन गर्न समस्या भएको छ ।’
लाम्पाटाबाट दरवाङसम्म ८ किलोमिटर खण्डसडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ मा विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे २ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयले जनाएको छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन प्याकेजमा स्तरोन्नति भइरहेको छ ।
पहिलो प्याकेजमा पर्ने बेनीबाट सिमसम्मका सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको सडकलाई पूर्णता दिन मुख्य ठेकेदारले ५ महिनापछि गत भदौदेखि काम सम्हालेका छन् । समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो ।
मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इन्जिनीयर महेन्द्र शाहले सडक निर्माणलाई पूर्णता दिने गरी काम शुरू गरेको बताए ।
विक्रम संवत् २०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करीब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।