०२ असार २०८३, मंगलबार

नदी कटानले विद्यालय र उपल्लो तातोपानी बजार उच्च जोखिममा

असोज ८, २०७८
नदी कटानले विद्यालय र उपल्लो तातोपानी बजार उच्च जोखिममा
फाइल फोटो

गत जेठ महिनायता पटक–पटक म्याग्दी नदीमा आएको बाढीको कटानले म्याग्दीको बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन पनि नष्ट भएको छ ।

बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् ।

बस्ती नै जोखिममा परेपछि आफन्तको घरमा आश्रय लिन बाध्य भएको पीडित दिनेश केसीले बताए । मसार बस्ती नै उच्च जोखिममा परेपछि घर छाड्न बाध्य भएको उनले दुखेसो पोखे । स्थानीयको करीब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीय त्रासमा बस्न बाध्य भएको स्थानीय टेकबहादुर फगामीले बताए ।

गत जेठ ३१, असार १, साउन २३ र भदौ ७ गते भएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीको कटानले विद्यालयको खाजाघर समेत बगाएको छ । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवन समेत जोखिममा छन् ।

वर्षात्का कारण नदी कटानको जोखिम नरोकिएकाले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले बताए । उनले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय तथा नगरपालिकालाई जानकारी गराएपछि डीपीआरको काम भइरहेको जानकारी दिए ।

बेनी–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये ८ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकामा स्थानान्तरण गरिएको छ । प्रभावित बस्तीमा तत्काल नगरपालिकाले प्रतिपरिवार १५ हजार, जिल्लास्थित नेपाली कांग्रेस र एमालेलगायत विभिन्न संघसंस्थाले राहत उपलब्ध गराएको वडाध्यक्ष पौडेलले बताए ।

बस्ती संरक्षणका लागि नगरपालिकाले पोखराबाट प्राविधिक ल्याएर डीपीआरको काम भइरहेको छ । वडाध्यक्ष पौडेलका अनुसार डीपीआर तयार भएपछि रुपाताल संरक्षण समिति र प्रदेश सरकारलाई पठाइने योजना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्