
नेपाली कांग्रेसले हिमाली जिल्लामा जिल्ला अधिवेशन दशैं अगावै सम्पन्न गर्ने भएको छ ।
मंसिर ९ देखि १४औं महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसको अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा पालिका, निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशन दशैं अगावै गर्ने सहमति भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी अन्य जिल्लाको अधिवेशनको मिति तय हुने महतले बताए । क्रियाशील सदस्यताको विवाद बाँकी रहेका १३ जिल्लामा वडा र नगर अधिवेशन दशैं अगाडि गर्ने र जिल्ला अधिवेशन दशैं तिहारपछि गर्ने गरी छलफल भइरहेको महतले बताए ।
६२ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेस पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइको विषयमा समेत कुराकानी भएको थियो ।