२८ जेठ २०८३, बिहीबार

‘चाइना बा’ ९१ वर्षको उमेरमा किन कम्युनिस्ट बने ? (भिडियो सहित)

कात्तिक २०, २०७४
‘चाइना बा’ ९१ वर्षको उमेरमा किन कम्युनिस्ट बने ? (भिडियो सहित)

 

केरुङ्गा (अर्घाखाँची), – सरकारले उपलब्ध गराउने वृद्धभत्ताले बुढ्यौली उमेरका बा आमालाई कुन हदसम्म प्रभाव पारेको छ भन्ने गतिलो उदाहरण बनेका छन् अर्घाखाँची केरुङगा अरुल्काका खिमानन्द भुसाल ।

कुनै बेला नेपाली काँग्रेसका कट्टर समर्थक भुसालले ९१ वर्षको उमेरमा आएर पार्टी परिवर्तन गरेका छन् । काँग्रेस छोडेर उनी कम्युनिस्ट बनेका छन् ।९१ वर्षको उमेरमा एक्लै जीवनयापन गरिरहेका भुसाललाई सरकारले दिएको २ हजार रुपैयाँ वृद्धभत्ता जीवन जिउने आधार बनेको छ ।

china_baa_ba_nepal_bridda_bhatta-2

सोही कारण आफूले २००७ सालदेखिको काग्रेससँगको आस्था त्यागेर कम्युनिस्ट बनेको उनले लोकान्तरलाई बताए । भुसाल भन्छन्, ‘अबको चुनावमा सूर्य चिह्नमा मतदान गर्नेछु ।’

‘चाइना बा’ नाम कसरी रह्यो ?

खिमानन्द भुसाललाई स्थानीय गाउँलेहरू ‘चाइना बा’ को नामले चिन्छन् । भारत र बर्मामा बसेका ‘चाइना बा’ न चीन पुगेका छन् न चीनसँगको उनको कुनै साइनो छ । तर नाम उनको नाम भने चाइना बा । कुराकानी गर्दा ‘चाइनी जो’ थेगो प्रयोग गर्ने गरेका कारण उनको नाम नै चाइना बनेको रहेछ ।

‘हुनत म रार्इंलो हुँ, राईंलो बा भनेको भए बरू हुन्थ्यो । तर बोल्दा चाइनी जो भनेर बोल्ने गरेका कारण मलाई चाइना बा भन्छन्,’ भुसालले भने, ‘चाइनामा बसेर आएको हो र भनेर सोध्छन् । तर मैले चाइना देखेको पनि छैन । टेकेको पनि छैन ।’

नब्बे बर्ष काट्दा पनि उनको जोश जाँगर र कुरा गर्ने शैलीका कारण उनी गाउँ आसपासमा प्रख्यात छन् ।

किन कम्युनिस्ट बने यो उमेरमा ?

china_baa_ba_nepal_bridda_bhatta-1

भुसालले दाबी गरे अनुसार उनी २००७ सालदेखि नै नेपाली काँग्रेससँग आस्था राख्ने व्यक्ति हुन् । काँग्रेस र कम्युनिस्ट पार्टीबीच झडप हुँदा दग्दबे (एक प्रजातिको रुख) का काँचा लठ्ठी लिएर हिँडेको उनी स्वयं दाबी गर्छन् ।

उसोभए काग्रेससँगको त्यति लामो साइनो किन छाडे त भुसालले ? भन्छन्, ‘सरकारले हामी असहाय वृद्धको पेन्सन बढाउँदा काग्रेसले विरोध गर्ने ? तिनका बाउ आमा छैनन् ? उनीहरु बुढो हुनुपर्दैन ?’

केपी ओली सरकारले वृद्धभत्ता बढाउँदा नेपाली काँग्रेस, त्यसमा पनि पूर्वअर्थमन्त्री डा रामशरण महतले विरोध जनाएको कुराप्रति ९१ वर्षका वृद्ध चिढिएका रहेछन् ।

‘वृद्धभत्ता माले (एमाले) सरकारले दिएकोे हो । यतिभन्दा थुनिनपर्छ भने तयार छु’ भुसालले भने, ‘बाँचेछु भने भोट एमालेलाई दिने हो । लुकाएर होइन, देखाएर सूर्यमा भोट ठोक्ने हो ।’

१५ वर्षसम्म एउटा पार्टीको पेन्सन खाएर अर्को पार्टीलाई भोट हाल्दा स्वर्ग जाने बाटो थुनिने उनको आफ्नै खालको विश्लेषण छ । ‘पेन्सन ३ सरकारले पनि दिएको होइन । ५ सरकारले पनि दिएको होइन । मालेले दिएको हो,’ राजनीतिक आस्था फेर्नुको कारणबारे उनले भने, ‘एउटाको खाएर अर्कोलाई भोट दिँदा पाप धर्मको कुरा पनि आउँछ । यो उमेरमा आएर पाप बोक्न मन छैन ।’

९१ वर्षको उमेरमा कोही छैन सहारा

बुढ्यौलीले च्याप्दै गएपनि उनको सहारा कोही छैन । जंगलको बीचमा रहेको एकतले छाप्रोमा उनले दिन गुजारिरहेका छन् । पिसाब सम्बन्धी रोगका कारण उनी नल्की लगाएर हिँडडुल गर्छन् ।
दुई दिनमा एकपटक पिसाबको पाइप फेर्नुपर्छ । त्यसका लागि तीन सय रुपैयाँ आवश्यक पर्छ ।

सरकारले दिएको एकहजार वृद्धभत्ता बढाएर दुईहजार पु—याइएपनि उनले बढेको वृद्धभत्ता बुझिसकेका छैनन् । गाविसले दिने वार्षिक पाँच हजार र वडाले दिने वार्षिक चार हजारले उनले उपचार खर्च जुटाएका छन् । यस अतिरिक्त उनका आफन्तहरूले केही सहयोग गर्छन् ।

china_baa_jhupoadi_hut
चाइनाबाको झुपडी, जहाँ एक्लो चाइनाबा बस्ने गर्छन् ।

केही वर्षअघिसम्म घर बढाउने ठाउँमा हिलो मुछ्ने काम गर्ने खिमलाल आजकल सक्दैनन् । खेतीबाली लगाउन नसकेर बारी बाँझो छ । ८४ पूजा गरेपछि उनले माछा मासु खाएका छैनन् ।
पैसा कमाउन हिँडेको १९ वर्षको छोरा ४० वर्षदेखि बेपत्ता भएपछि उनी बेसहारा छन् । ‘ढुङ्गो बोल्दैन । सुकेको दाउरो बोल्दैन । जुन हेरेर रात बिताउँछु,’ खिमानन्दले गुनासो पोखे ।

तीनजना छोरी भएपनि उनी जंगलको बीचमा रहेको कुटीमा दिन बिताउँछन् । घर नामको एकतले छाप्रोमा एउटा कोठा छ । त्यसैमा उनको जीवन चलेको छ । घरमा केही सामान नभएका कारण उनले यताउता जाँदा ढोका पनि लगाउँदैनन् ।

उपचार खर्चमा सहयोगको अपेक्षा

गाउँछिमेकमा कोही आउँदा खिमानन्द आफूलाई सहयोग गर्न आएको हो कि भनेर आश गर्छन् ।
‘पिसाबको पाइप फेर्न डाक्टरकोमा गएको थिएँ । तपार्इं आएको सुन्नासाथ ठूलै बिटो पो गुम्ने हो भन्ने डरले हस्याङफस्याङ गर्दै आएँ,’ लोकान्तर संवाददातासँगको भेटमा भुसालले आशा दर्शाए ।

उनको स्वास्थ्य उपचारका लागि रकम अभाव रहेको स्थानीय शिक्षक खिमानन्द भुसालले बताए ।
‘उहाँको उपचारका लागि गाविस र वडाबाट पनि वार्षिक रकम सहयोग गरेका छौं । कतैबाट सहयोग मिले उहाँलाई मद्दत हुन्थ्यो,’ शिक्षक खिमानन्दले भने ।

तर केपी ओली चिन्दैनन्

जुन कारणले उनले काँग्रेससँगको ६० वर्ष लामो आस्था छाडे, पेन्सन बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने उनी चिन्दैनन् । ‘आजकालका साना–साना केटाकेटीले पनि केपी ओली, केपी ओली भनेको सुन्छु, तर मैले त्यति मेलो पाएको छैन,’ उनले भने ।

चाइना बासँगको भेटको संयोग काँग्रेसका स्थानीय नेताकोमा परेको थियो । रात पर्नै थालेकोले सबैले उनलाई सोही घरमा बस्न आग्रह गरे । तर चाइना बाले मानेनन् । ‘होइन चाइने जो मेरो जुन घर छ, म त्यहीँ जान्छु,’ उनले भने ।

संवाददाताले चाइना बालाई चिया खर्च दिएपछि बिदा हुने समयमा फेरि भने, ‘म काँग्रेस होइन । चाइने जो म माले हो । बाँचिएछ भने फेरि भेटम्ला चाइनामा !’ हेर्नुहोस् चाइना बासँगको कुराकानी :

salt training

कमेन्ट गर्नुहोस्