
कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको छ ।
पुनर्निर्माणपछि टनाटन पानी भरिएको कमलपोखरीको निरीक्षणका सिलसिलामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।
काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि आज कमलपोखरी पुगेका शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको बताए ।
‘एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण अघि बढाएका छौँ,’ उनले भने ।

उनले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहीअनुरुप काम अघि बढेको पनि बताए ।
सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार कुनामा आकर्षक र संस्कृति झल्किने चार मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँच मण्डप रहने जानकारी दिए ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको उक्त पोखरी वास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको बस्नेतको भनाइ छ ।
‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ,’ बस्नेतले भने, ‘पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसै गरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहने छन् ।’ उनले पोखरी पुनर्निर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिएको जानकारी दिए । उनले दोस्रो चरणमा बगैँचा मात्रै रहने जानकारी दिए ।
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेको जानकारी दिए । उनले गेट, शौचालयको केही र रंगरोगनलगायतको मात्रै काम बाँकी रहेको जानकारी दिए ।
कँडेल निर्माण सेवा कम्पनीले भक्तपुर र ललितपुरको बुङमतीका अनुभवी कामदार ल्याएर पुनर्निर्माणको काम गरेको जानकारी दिएको छ ।