प्रधानमन्त्री शेरबहादुर देउवाले एक करोड मात्रा खोप आउने सुनिश्चित भएको बताएका छन् । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसङ्ख्यामध्ये कम्तीमा आधा जनसङ्ख्यालाई एक मात्रा खोप लगाउने जानकारी दिए ।
उनले हालसम्म एक चौथाइ बढीले खोपको पूर्ण मात्रा पाइसकेको प्रस्ट पारे । अबको खोप अभियानका लागि एक करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिए । उनले भने, “अबको हाम्रो ध्यान सक्रिय जनसङ्ख्याका रूपमा रहेको १२–१८ वर्ष उमेर समूहलाई खोप लगाउनेतर्फ केन्द्रित रहेको छ ।”प्रधानमन्त्री देउवाले नेपालले स्वास्थ्य पूर्वाधारमा सुधार, अक्सिजन र अत्यावश्यक चिकित्सा सामग्रीको आपूर्ति र परीक्षण सुविधाको विस्तारमा केन्द्रित भएको सम्मेलनमा जानकारी गराए । गोरखापत्रले खबर छापेको छ ।