
काठमाडौं, ४ असार –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित इटहरीस्थित यातायात सवारी कार्यालय कोशीका ८ जना कर्मचारीविरुद्व विशेष अदालतमा मुद्दा दायर गर्न लागेको छ ।
६१ करोड रुपैयाँ राजश्व हिनामिना गरेको अनुसन्धानबाट खुलेपछि ती कर्मचारीविरुद्व आइतवार विशेष अदालतमा मुद्दा दायर गर्न लागिएको अख्तियार स्रोतले जानकारी दिएको छ । उनिहरूविरुद्ध मुद्दा दायर गर्न अख्तियार टोली अदातल पुगिसकेको स्रोतले जानकारी दिएको छ ।
उक्त कार्यालयमा ठूलो अनियमितता भएको सूचना पाएपछि दुई महिनाअघि नै यातायात व्यवस्था विभागले त्यसमा मुछिएका कर्मचारीलाई निलम्बन गरी अनुसन्धानका लागि अख्तियार गुहारेको थियो ।
कार्यालयका हालका प्रमुख नयराज नेपाल र तत्कालिन प्रमुख सहित ८ जना कर्मचारीविरुद्व अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अख्तियारले ती दुवै कर्मचारीसहित ८ जनालाई दोषी ठह-याएको छ ।
ती कर्मचारीले सेवाग्राहीबाट उठाएको सवारी कर लगायतका पैसा सरकारी ढुकुटीमा नराखी सफ्टवेरको माध्यमबाट अनियमितता गरी भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । ती कर्मचारीले विगत करीव ३ वर्षको अवधिमा यति ठूलो भ्रष्टाचार गरेका हुन् ।