
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको बताएका छन् ।
नेकपा एमालेको पहिलो विधान महाधिवेशनको उद्घाटन शत्रलाई शुक्रवार गोदावरीस्थित सनराइज सभा हलमा सम्बोधन गर्दै ओलीले मुलुकको भविष्य नै जोखिममा पार्ने काम भएको आरोप लगाए ।
'नेकपा एमालेविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको छ । मुलुकको भविष्य जोखिममा परेको छ । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालई परास्त गर्दै समाज निर्माण गर्ने जिम्मा हामीमाथि छ,' ओलीले भने ।
केही नेता संगठनात्मक अराजकता र फूटलाई प्रश्रय दिँदै पार्टीबाट बाहिरिए पनि एमाले नेकपाकै निरन्तरता भएको ओलीले जिकिर गरे ।
'सीमित व्यक्तिको निहीत स्वार्थका कारण (एमाले र माओवादीको) एकता निष्कर्षमा पुगेन । सर्वोच्चको फैसलाले नै पूर्ववत अवस्थामा पुर्याइदिएपछि एमालेका रूपमा क्रियाशील भएका छौं,' ओलीले भने, 'एमाले नेकपाको निरन्तरता सहितको सकारात्मक विरासत बोकेको पार्टी हो ।'
ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । यसपछि महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।