२६ जेठ २०८३, मंगलबार
प्रेरणादायी अनुभूति

छोरालाई काँखमा लिएर जनताको सेवामा खटिने उपाध्यक्ष लक्ष्मी

असोज १६, २०७८
छोरालाई काँखमा लिएर जनताको सेवामा खटिने उपाध्यक्ष लक्ष्मी

उमेरले उनी भर्खरै ३२ वर्ष लागिन् । कार्यकालको अन्तिमतिर आउँदा उनलाई झनै काम गर्ने उत्साह छ ।

सबै क्षेत्रमा पछाडि परेको कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले ४ वर्षअघि स्थानीय तहमा निर्वाचित हुँदा खै के नै गर्न सकिन्छ होला र भन्ने सोचेकी थिइन् तर आफूलाई नेतृत्वमा पुर्‍याउने जनताप्रति चिन्तित भएर काम गरिन् ।

२८ वर्षको कम उमेरमै गाउँपालिका उपाध्यक्ष बनेकी चौधरी गाउँमा महिला र बालबालिकामुखी योजना बनाएर अगाडि बढिन् । जसले गर्दा अहिले सबै क्षेत्रमा महिला र बालिकाको सहभागिता, सक्रियता र पहुँच धेरै राम्रो बनेको दाबी गछिन् उनी ।

उनले गाउँमै रोजगारी सिर्जना गराउने प्रयास गरिन् । सबै गाउँटोल र बस्तीमा पुगेर समस्या बुझिन् । त्यही अनुभवलाई आधार बनाएर तल्लो तहका जनतालाई माथि उठाउन सफल भएजस्तो लाग्छ उनलाई ।

पूर्व शिक्षिका रहेकी चौधरीले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार आस्नी साहीलाई ३ हजार ३६० मत अन्तरले पराजित गरेकी थिइन् । उनी नेकपा एमालेबाट निर्वाचित भएकी हुन् । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा पनि एमालेबाटै निर्वाचित हुन् । 

उनले ४ वर्षको अवधिमा महिला र बालिकाको क्षेत्रमा धेरै काम गर्न सफल भएको दाबी गरिन् । उनी गाउँपालिका उपाध्यक्ष निर्वाचित हुँदा २८ वर्षकी थिइन् । अहिले उनको काँखमा साढे २ वर्षको छोरा छ । उनी कत्ति पनि विचलित भइनन् । छोरालाई काँखमा लिएरै जनताको सेवा गर्न गाउँपालिकाको काममा बिहानैदेखि खटिन्छिन् उनी ।  

गाउँका अधिकांश महिला घरमै सुत्केरी हुन्थे । जिल्लाको सबैभन्दा बढी पिछडिएको भनेर चिनिने विजयपुरमा उनकै पहलमा ४ वटा वर्थिङ सेन्टर बने । ‘यहाँका महिलाहरूले घरमा बच्चा जन्माउनुपर्ने अवस्था थियो । समस्या आए बुटवल र कृष्णनगरसम्म दुगुराउनुपर्थ्यो । मेरै पहलमा गाउँपालिकामा अहिले ४ वटा वर्थिङ सेन्टर बनेका छन् । २ वटा सञ्चालनमा आइसके, २ वटा अबको २ हप्ताभित्र सञ्चालनको तयारीमा छन् । जसले गर्दा गर्भवती महिलालाई सहज भएको छ,’ चौधरी भन्छिन् ।

बर्थिङ सेन्टरमा निःशुल्क भिडियो एक्सरे सेवा पनि सञ्चालन गर्ने चौधरीको सोच छ । गर्भवतीले ४ पटक गर्भ जाँच गरे/नगरेको उनले वडा तहबाट तथ्यांक माग्छिन् । जाँच नगर्ने महिलालाई अनिवार्य रूपमा जाँच गर्न पठाउँछिन् । 

उनले ‘छोेरी बचाऊ, छोरी पढाऊ’ अभियान सञ्चालन गरिन् । छोरीले पढ्न नपाउने ठाउँमा जन्मे–हुर्केकी लक्ष्मीले छोरीका नाममा बैंक खातामा १५ हजार रूपैयाँ जमा गरिदिनुपर्ने योजना ल्याइन् । १० हजार गाउँपालिका र ५ हजार अभिभावकले जम्मा गरिदिनुपर्ने व्यवस्था गरिएको छ ।

‘मैले जनप्रतिनिधि हुनुअघि विद्यालयमा पढाउँदा पनि छोरीले पढ्नुपर्छ भनेर बालिकाहरूलाई हौसला र प्रोत्साहन गर्थें,’ चौधरी भन्छिन्, ‘गाउँका छोरी, आमालाई सबै क्षेत्रमा सहभागिता बढाउँदै गएँ ।’

चौधरीकै पहलमा ६ र ११ कक्षामा पढ्ने सबै बालिकालाई साइकल वितरण गरिएको छ । 

उनी भन्छिन्, ‘५ कक्षा पढेपछि विवाह गरिदिने चलन तराईमा छ । त्यो रोक्न केही प्रयास स्वरूप ६ कक्षा पढ्ने छात्रालाई साइकल दिइएको छ भने १० पास गरेपछि ११ पढ्ने छात्रालाई पनि साइकल दिइएको छ । जसले गर्दा पढ्ने छात्रा बढेका छन् ।’

गाउँपालिकाले हालसम्म ५ हजार छात्रालाई साइकल वितरण गरेको छ । उनले महिलाका लागि बाख्रापालन तालिम सञ्चालन गराइन् । बाख्रापालन गर्न चाहने किसानलाई गाउँपालिकाले अनुदानको व्यवस्था समेत गरेको छ । पुष्पखेती र माला बनाउने तालिमले अहिले फूल खेतीमा पनि गाउँका महिला लागेका छन् । महिला बेचबिखनविरुद्ध पनि काम गर्दै आएकी छन् उनी । 

पालिका उपाध्यक्षले न्यायिक समिति, योजना तथा अनुगमन, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समिति लगायत दर्जनभन्दा बढी समितिको नेतृत्व गर्नुपर्छ । न्यायिक समितिमा महिला प्रतिनिधि भएकाले अधिकांश महिलाले सहज अनुभव गरेका छन् । तराईमा विवाद र हिंसाका घटना धेरै हुन्छन् । ती समस्या लिएर प्रायःजसोलाई उनले मेलमिलापमार्फत टुंगो लगाउँछिन् । आफू राजनीतिमा सहज रूपमा आए पनि महिलालाई बालबालिका हुर्काउँदै राजनीतिक नेतृत्वमा आउन कठिन संघर्ष गर्नुपर्ने उनी बताउँछिन् ।

‘मलाई त परिवारबाट पनि साथ छ,’ उनी भन्छिन्, ‘धेरै स्थानीय तहमा अध्यक्ष र उपाध्यक्षबीच पनि मनमुटाव देखिन्छ तर मलाई चाहिँ घर, परिवार र गाउँपालिका अध्यक्षबाट पनि कुनै योजनामा रोकतोक भएन । अध्यक्षबाट मैले कुनै विभेदको अनुभूति गरेकी छैन ।’

उनका पति व्यापार गर्छन् । पतिले लक्ष्मीलाई घरपरिवारभन्दा धेरै समय गाउँपालिकालाई दिनु भन्छन् । पतिकै कारण राजनीति र विकासका योजनामा लाग्ने प्रेरणा मिलेको उनी बताउँछिन् । ‘महिला पनि उद्यमशीलतासँगै आत्मनिर्भर हुने हो भने विभेद आफैं हटेर जान्छ,’ लक्ष्मीले ठोकुवा गरिन् । 

उनको घर र गाउँपालिको दूरी ६ किलोमिटर छ, परिवार २१ सदस्यीय छ तर उनले छोरोलाई सधैं साथमा लैजान्छिन् । कार्यालयमा छोरालाई हेर्न सासूआमा पनि सँगै पुग्छिन् । उनी काममा व्यस्त हुन्छिन्, छोरालाई सासूआमाले हेर्छिन् ।

‘घरमा मेरो बच्चा हेर्ने धेरै थिएँ तर बच्चालाई मातृत्व चाहिने भएकाले सुत्केरी बिदा सकिएपछि सधैं कार्यालयमै लगेर काम गरें, घरमा छाडिनँ,’ उनले भनिन् ।

लक्ष्मीका अनुसार उपमेयर र उपाध्यक्षलाई पर्याप्त अधिकार दिइएको छैन । उपाध्यक्षको अधिकारमा केही अन्योल महसूस गरेकी छन् उनले ।

salt training

कमेन्ट गर्नुहोस्