१२ असार २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

वडा, नगर र जिल्ला अधिवेशनको संकेत– कांग्रेसको आसन्न महाधिवेशनमा कसको पल्ला भारी ?

असोज १८, २०७८
वडा, नगर र जिल्ला अधिवेशनको संकेत– कांग्रेसको आसन्न महाधिवेशनमा कसको पल्ला भारी ?

१४ औं महाधिवेशनको चटारोमा रहेको नेपाली कांग्रेसमा जिल्ला सभापति चयन हुन थालेका छन् । 

पहिलो चरणमा सबै हिमाली जिल्लामा अधिवेशन गरेर सभापति चयन गर्ने भनिए पनि १० बाहेक अरू जिल्लामा अधिवेशन सम्पन्न हुन सकेको छैन । अन्य ३ वटा जिल्लामा अधिवेशन प्रक्रियामै छ ।

अधिवेशन भएका नौ जिल्लाको नतिजा हेर्दा कांग्रेसमा संस्थापनइतर समूह अगाडि देखिएको छ । 

संस्थापन इतरमा समूहबाट संखुवासभामा दीपक खड्का, रूकुम पूर्वमा केशरमान रोक्का, कालिकोटमा अम्मबहादुर शाही र मुस्ताङमा रोमी गौचन थकाली कांग्रेसको जिल्ला सभापति चयन भएका छन् । 

पछिल्लोपटक गोरखामा नन्दप्रसाद न्यौपाने सभापति चुनिएका छन् । उनी पनि संस्थापनइतर समूहबाट छन् । न्यौपाने विशेष गरी नेता गगन थापा निकट रहेको कांग्रेस स्रोतले बतायो ।

त्यसैगरी, देउवा पक्षबाट ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, मनाङमा शंकर गुरूङ र हुम्लामा मोहनविक्रम सिंह सभापति निर्वाचित भएका छन् । 

रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम) सभापति चयन भएका छन् । कान्छाराम सभापतिको उम्मेदवारीमा दाबी गरेका विमलेन्द्र निधि निकट मानिन्छन् । 

यी ९ जिल्लामा सभापति निर्वाचन हुनेबाहेक कांग्रेसले ६४ जिल्लामा नगर र पालिका तहको अधिवेशन सम्पन्न गरेको छ । 

१३ जिल्लामा अझै क्रियाशील सदस्यता विवादको विषय समाधान हुन नसक्दा स्थानीय तहको अधिवेशनको मिति टुंगो लागेको छैन । 

स्थानीय तहमा वडा, पालिका र नगर कमिटीमा भएको अधिवेशनले कांग्रेसको क्षेत्रीय र जिल्ला प्रतिनिधिको हिसाबकिताब आंकलन गर्न सकिन्छ । 

कांग्रेसको विधानमा वडा अधिवेशनबाट क्रियाशील सदस्यले मतदान गरी प्रदेशसभा क्षेत्रको अधिवेशनका लागि प्रतिनिधि छान्ने व्यवस्था गरिएको छ । 

त्यसैगरी प्रदेशसभा क्षेत्रबाट छानिएका प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भाग लिनेछन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने अधिवेशनले नै केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छान्ने छ, र तिनै प्रतिनिधिले सभापति लगायत केन्द्रीय कार्यसमितिका उम्मेदवारलाई मतदान गरी नेतृत्व चयन गर्ने विधि कांग्रेसको विधानले अवलम्बन गरेको छ ।

कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएर महाधिवेशन प्रतिनिधि छनौट हुँदा कांग्रेसमा कसको पक्षमा कति प्रतिनिधि आए भन्ने नजिकको आंकलन गर्न सकिने कांग्रेसका नेताहरू बताउँछन् ।

कांग्रेसमा अहिले मुख्य गरी दुई समूह देखिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन पक्ष र अर्को देउवालाई जसरी पनि सभापतिबाट बिदा गर्ने योजनामा रहेको संस्थापनइतर पक्ष । यो समूहमा अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेका छन् । तर संस्थापन इतर समूहमा पनि सभापतिका आकांक्षी धेरै भएकाले आगामी महाधिवेशनमा को उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन ।

संस्थापन समूहमा सभापति देउवाकै पक्षमा रहेका नेताहरू विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । निधिले त औपचारिक रूपमा कार्यालय नै स्थापना गरेर प्रचार अभियान थालेका छन् ।

सभापतिका आकांक्षी जति धेरै भए पनि त्यो पहिलो चरणको निर्वाचनसम्म मात्रै हो । कांग्रेसको विधानले सभापतिमा निर्वाचित हुनको लागि कुल प्रतिनिधिमध्ये ५० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था गरेको छ । 

पहिलो निर्वाचनमै कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउने सम्भावना ज्यादै न्यून रहेको कांग्रेस संस्थापन पक्षका एक नेताले बताए । 

दोस्रो चरणमा जाँदा दुई जना मात्रै उम्मेदवार हुन्छन् । त्यसबेला जसले बढी मत ल्याउँछ, सोही उम्मेदवार नै कांग्रेसको सभापतिमा निर्वाचित हुन्छ ।

स्थानीय तहमा कसको पल्लाभारी ? 

स्थानीय तहमा भएको अधिवेशनले कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि कुन पक्षको कति आउलान् भन्ने प्रारम्भिक आंकलन गर्न सकिन्छ । 

कांग्रेसमा संस्थापन इतर समूहका एक नेता भन्छन्, ‘स्थानीय तहको अधिवेशनले महाधिवेशन प्रतिनिधिको नतिजाको संकेत गर्छ र प्रारम्भिक संकेत एकदमै सकरात्मक छ ।’

स्थानीय तहको अधिवेशनको नतिजा हेर्दा संस्थापन इतर समूहको ५५ देखि ६० प्रतिशत नतिजा रहेको उनले बताए । ‘हाम्रो पक्षमा ५५ देखि ६० प्रतिशत संस्थापन इतरको नतिजा आएको देखिन्छ । यसलाई अपव्याख्या गर्ने सम्भावना पनि छ । सर्वसम्मतिमा आएकालाई कुनैपनि पक्षले हाम्रो भन्ने दाबी गर्न सक्छ । त्यसो हुँदा पनि दुवै पक्षको बराबरीजस्तो देखिन्छ’, ती केन्द्रीय सदस्यले भने । 

संस्थापनइतर समूहमा नै रहेका केन्द्रीय सदस्य गुरूराज घिमिरे पनि सर्वसम्मत भएको ठाउँको मत कता जान्छ, अहिले नै भन्न सकिने अवस्था नरहेको बताउँछन् ।

‘कतिपय जिल्लामा सर्वसम्मत भएको छ । सर्वसम्मत भएको ठाउँको मत कता जान्छ भन्न सकिने अवस्था छैन । तर जहाँ निर्वाचन भएको छ, त्यहाँको नतिजा उत्साहप्रद नै छ’, घिमिरेले भने । निर्वाचन क्षेत्रको अधिवेशन भएपछि पार्टी नेतृत्वको पक्षमा आउने मतको मोटामोटी नतिजा आउने घिमिरेले बताए । 

पछिल्लोपटक काठमाडौं महानगरपालिकामा पनि संस्थापन इतर पक्षले जीत हात पारेको छ । विशेषगरी प्रकाशमान सिंह र गगन थापाले रुचाएका नीलकाजी शाक्य निर्वाचित भएका छन् ।

यता सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षको दाबी भने आफ्नै छ ।

स्थानीय तहमा संस्थापन पक्षको नतिजा पनि उत्साहप्रद रहेको उक्त समूहका नेताहरू बताउँछन् । संस्थापन पक्षका एक नेताले स्थानीय तहदेखि नेतृत्व चयनसम्मको मत हिसाब यसरी लगाए–  

जनताबाट भोट गर्ने हो भने अहिले शेरबहादुर देउवालाई १० देखि १५ प्रतिशत मत आउँछ । साधारण सदस्यले भोट हाल्ने हो भने २० प्रतिशत मत आउँछ । क्रियाशील सदस्यले भोट हाल्ने हो भने ३० प्रतिशत आउँछ । प्रतिनिधिले भोट हाल्ने हो भने ३५ प्रतिशत आउँछ । तर, महाधिवेशन प्रतिनिधिले भोट हाल्दा अहिले पनि ५० प्रतिशत पुग्ने सहज अवस्था देखिन्छ । 

स्थानीय तहको अधिवेशनमा अहिले ४८ प्रतिशत भोट देउवाको पक्षमा रहेको तथ्यांक आफूहरूले संकलन गरेको ती नेताले बताए ।

हुन त देउवा पक्षमा रहेका प्रभावशाली नेताहरूकै जिल्लामा उनको पक्षमा नतिजा आएन ।

प्रदेश–२ को सुनसरी जिल्लाबाट विजयकुमार गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की, मीन विश्वकर्मा लगायतका नेता छन् । सुनसरीमा १२ वटा स्थानीय तहमध्ये कुनैमा पनि देउवा पक्षको नेतृत्व नआएको उनकै पक्षका एक केन्द्रीय सदस्यले बताए । 

देउवाको नजिक रहेर काम गरेका र केन्द्रमा प्रभावशाली भनिएका नेताकै जिल्लामा देउवाको पक्षमा नतिजा नआउनु सुखद् संयोग भने नरहेको उनले स्वीकारे ।

तराईका आठ जिल्लाबाट करीब ८ सय जना महाधिवेशन प्रतिनिधि आउँछन् । पहाडमा त्यति नै प्रतिनिधि आउन ३२ जिल्ला हुनुपर्ने उनको भनाइ छ । त्यसो हुँदा तराइमा जिल्लाबाट आउने प्रतिनिधिले पनि कांग्रेसको सभापति निर्वाचनमा निर्णायक भूमिका निर्वाह गर्छन् । 

शेरबहादुर देउवानजिक रहेर काम गरेर र महामन्त्रीको उम्मेदवारी पनि घोषणा गरेका विश्वप्रकाश शर्माको जिल्ला झापाको स्थानीय तहको अधिवेशन पनि उनीहरूको पक्षमा रहेन । त्यहाँको स्थानीय तहमा धेरैजसो नेता कृष्णप्रसाद सिटौला पक्षकाले जितेका छन् । 

‘देउवाको पक्षमा रहेका नेताहरू केन्द्रमा ठूलो कुरा गर्ने तर स्थानीय तहमा शून्य हुने अवस्था देखियो । बाहिर राम्रो प्रचार हुने, तर जिल्लामा कमजोर हुने अवस्था देखियो’, कांग्रेस संस्थापन पक्षकै नेता रामहरि खतिवडाले भने ।

कसरी चुनिन्छ महाधिवेशन प्रतिनिधि ?

कांग्रेसको विधानअनुसार क्रियाशील सदस्य संख्या नै पार्टी नेतृत्व चयनमा निर्णायक हुन्छन् । सोही कारण आफ्नो पक्षको धेरै क्रियाशील सदस्य बनाउन लबिङ हुने कारणले कांग्रेसमा क्रियाशील सदस्यता विवाद देखिएको थियो ।

कांग्रेसका क्रियाशील सदस्य वडा अधिवेशनमा भेला हुन्छन् । वडा अधिवेशनबाट क्रियाशील सदस्यले मतदान गरी प्रदेशसभा क्षेत्रको अधिवेशनका लागि प्रतिनिधि छान्ने व्यवस्था पार्टीको विधानमा छ । 

क्रियाशील सदस्यहरू मध्येबाट नै उम्मेदवार भएर क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । यसमा समावेशी प्रणालीलाई अवलम्बन गर्नुपर्ने व्यवस्था छ । वडा सभापति प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि पदेन प्रतिनिधि हुने व्यवस्था छ । 

प्रदेश सभा क्षेत्रबाट छानिएका प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भाग लिन्छन् । प्रदेश सभा क्षेत्रबाट प्रतिनिधि छनोट गर्दा खुलाबाट १० जनामध्ये ३ जना महिला अनिवार्य राखिएको छ । ६ जना समानुपातिक आधारमा छनोट हुने व्यवस्था रहेको छ । प्रदेश सभा निर्वाचन क्षेत्रको सभापति पदेन प्रतिनिधि हुने व्यवस्था समेत छ । यसरी प्रदेश सभा निर्वाचन क्षेत्रबाट १७ जनाले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा भाग लिन पाउँछन् । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने अधिवेशनले नै केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छान्छ र तिनै प्रतिनिधिले सभापति लगायत केन्द्रीय कार्यसमितिका उम्मेदवारका लागि मतदान गर्छन् ।

प्रत्येक प्रतिनिधि सभा क्षेत्र बराबर केन्द्रीय महाधिवेशनमा २५ जना प्रतिनिधि छानिने व्यवस्था रहेको छ । तीमध्ये १४ जना खुला प्रतिस्पर्धीबाट आउने छन्, जसमध्ये ४ जना महिला अनिवार्य गरिएको छ । 

१० जना समानुपातिक प्रतिनिधित्वको आधारमा छनोट हुनेछन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सभापति केन्द्रीय महाधिवेशनका लागि पदेन सदस्य रहने व्यवस्था कांग्रेसको विधानमा छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेको व्यक्ति प्रादेशिक अधिवेशनको पनि प्रतिनिधि हुने प्रावधान रहेको छ । प्रादेशिक अधिवेशनका लागि चयन भएको प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधिको पदमा उम्मेदवार बने प्रदेश प्रतिनिधि स्वतः रद्द हुने व्यवस्था समेत छ । 

केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता प्राप्त गरेको ४ वर्ष हुनुपर्ने प्रावधान छ । प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । 

प्रदेशभित्रका जिल्ला सभापति प्रादेशिक अधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउँछन् । 

भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू प्रादेशिक अधिवेशनमा प्रतिनिधि बने पनि उम्मेदवार हुन नपाउने व्यवस्था कांग्रेसको विधानमा छ ।

विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील सदस्यताको संख्याका आधारमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।

१०० क्रियाशील सदस्यता रहेको देशबाट जनसम्पर्क समितिको अध्यक्ष मात्रै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । ५०० भन्दा बढी क्रियाशील सदस्यता भएका देशबाट अध्यक्षसहित ७ जनाले प्रतिनिधित्व गर्ने पाउछन् । २ हजारभन्दा बढी क्रियाशील सदस्य भएको देशबाट १४ जनाले केन्द्रीय महाधिवेशनमा भाग लिन पाउँछन् । क्रियाशील सदस्यता २ हजारभन्दा बढी भएको अवस्थामा १४ जनाभन्दा बढी प्रतिनिधि छान्न पाइदैन । 

क्रियाशील सदस्यबाट पार्टी सभापतिले बढीमा ४० जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोनित गर्न पाउने प्रावधान समेत छ । मनोनित संख्या समावेशी आधारमा हुनुपर्ने व्यवस्था छ ।

भातृ तथा शुभेच्छुक संस्थाले आफ्नो संगठनबाट पनि प्रतिनिधि चयन गर्ने व्यवस्था छ । 

महिला संघ, तरुण दल, नेविसंघ, प्रजातान्त्रिक सेनानी संघ, किसान संघ, दलित संघ, नेपाल तामाङ संघ, नेपाल मगर संघबाट अध्यक्षसहित ५ जनाले महाधिवेशनमा प्रतिनिधि बन्न पाउँछन् ।

नेपाल शिक्षक संघबाट ७ जना प्रतिनिधि हुने व्यवस्था छ । प्रेस युनियनबाट ५ जना र ट्रेड युनियन कांग्रेसबाट ११ जना प्रतिनिधि हुने व्यवस्था रहेको छ ।

पेशागत शुभेच्छुक संस्था प्रत्येकबाट ५ जना प्रतिनिधि केन्द्रीय महाधिवेशनमा सहभागी हुन पाउँछन् । आदिवासी जनजातिसँग सम्बन्धित संगठनले ११/११ जना प्रतिनिधि पठाउन पाउँछन् । 

यसरी कांग्रेसको आगामी महाधिवेशन प्रतिनिधि करीब पाँच हजार हाराहारीमा पुग्ने अनुमान कांग्रेस केन्द्रीय कार्यालयको अनुमान छ । 

salt training

कमेन्ट गर्नुहोस्