
तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शङ्कास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराइएको छ । नगरप्रमुख वासुदेव घिमिरे नेतृत्वको टोलीले आज गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषीउपर हदैसम्मको कानूनी कारबाही गर्न गृहमन्त्रीसँग माग गरेको छ । तिलोत्तमा–५ मणिग्राम घर तथा वडा नं ८ चार नं माइत भएकी २७ वर्षीय सीता भण्डारीको भदौ २० गते मणिग्राम घरमा शङ्कास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रदर्शन भइरहेका छन् । विरोध प्रदर्शन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाहसमेत प्रभावित भएको छ ।
यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको थियो ।