प्यान्डोरा पेपर्सको भूराजनीतिक अर्थ

कालोधनको पर्दाफास गर्ने ‘प्यान्डोरा पेपर्स’को चिरफारः के हो यसमा लुकेको अमेरिकी स्वार्थ ?

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

कालोधनको पर्दाफास गर्ने ‘प्यान्डोरा पेपर्स’को चिरफारः के हो यसमा लुकेको अमेरिकी स्वार्थ ?

धनाढ्यहरूले आफ्नो सम्पत्ति विदेशमा थुपार्ने गरेको अनि कर छल्ने गरेको विषयमा लगभग सबै जानकार छन् । यो एकप्रकारले भन्नुपर्दा खुला रहस्य (ओपन सिक्रेट) नै हो । 


Advertisement

तर यसका विषयमा आधिकारिक दस्तावेज सहजै उपलब्ध हुने गरेको थिएन । विभिन्न देशका अनुसन्धान संस्थाहरूले यसलाई आफ्नो खोजको दायरामा राखेको भए पनि प्रमाण फेला पार्न भने सकस परिरहेको थियो । 


Advertisement

तर धनी तथा शक्तिशालीको आर्थिक अपराधसम्बन्धी दस्तावेज विगत केही वर्षयता धमाधम सार्वजनिक भइरहेका छन् । त्यसैको पछिल्लो कडीका रूपमा गत आइतवार प्यान्डोरा पेपर्स सार्वजनिक गरिएको छ । 

यसअघि सार्वजनिक गरिएको पनामा पेपर्स र प्याराडाइज पेपर्सकै नयाँ संस्करणका रूपमा प्यान्डोरा पेपर्स आएको हो । तर अघिल्लाभन्दा निकै बढी संख्याका दस्तावेजको अध्ययन यसपालि गरिएको छ ।


Advertisement

खोज पत्रकारहरूको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स (आईसीआईजे) ले लगभग १ करोड २० लाखवटा गोप्य सामग्रीलाई प्यान्डोरा पेपर्सको नाममा सार्वजनिक गरेको हो । यसका लागि १५० वटा सञ्चारमाध्यमका ६०० भन्दा बढी पत्रकारले दुई वर्षसम्म दस्तावेजहरूको मिहिन ढंगले अध्ययन गरेका थिए । 

यसमार्फत संसारका शक्तिशाली र धनी व्यक्तिहरूले लुकाएको सम्पत्तिको विवरण सार्वजनिक गरिएको छ । कुल ९१ मुलुक तथा भूभागका राज्यप्रमुख, सरकारी कर्मचारी, राजनीतिकर्मी र व्यापारीहरूले गोप्य राखेको सम्पत्तिको खुलासा गरिएको हो । 

प्यान्डोरा पेपर्समा ६४ लाख दस्तावेज, लगभग ३० लाख तस्वीर, १० लाखभन्दा बढी इमेल र लगभग पाँच लाख स्प्रेडशीट छन् । 

यी सामग्रीहरू हेर्दा विदेशमा सम्पत्ति थुपार्ने काम (अफशोर फाइनान्सेस) र गोप्य सम्पत्ति राख्ने काम विश्वका व्यापारी तथा राजनीतिकर्मीले व्यापक मात्रामा गर्ने गरेको पाइन्छ । जोर्डन र केन्या जस्ता गरीब मुलुकका राजनीतिक नेताहरूले पनि अकूत सम्पत्ति विदेशमा राखेको भेटियो । 

अमेरिकामा वाशिङटन पोस्ट र बेलायतमा बीबीसी तथा द गार्डियनले प्यान्डोरा पेपर्सको बारेमा शृंखलाबद्ध सामग्री प्रकाशन गरिरहेका छन् । 

द गार्डियनका अनुसार, प्यान्डोरा पेपर्समा नाम उल्लेख गरिएका सबैजनाले गलत काम गरेको भन्ने हैन । तर ब्रिटिश भर्जिन आइल्यान्ड्स, पनामा वा स्विट्जरल्यान्ड जस्ता अपारदर्शी करको व्यवस्था भएको तथा सम्पत्तिको स्रोत खुलाउन बाध्य नबनाइने स्थान (ट्याक्स ह्याभन) मा सम्पत्ति राखेर धनीहरूले आफ्नो सम्पत्तिमा करछली गराएको र सम्पत्तिलाई गोप्य राख्न प्रयास गरेको पक्का हो । 

धनीहरूले सुनियोजित रूपमा त्यस्तो मुलुक वा भूभागमा लगेर सम्पत्ति राख्ने गरेका छन् जहाँ करको कडीकडाउ व्यवस्था छैन अनि जहाँ गोपनीयतासम्बन्धी कानूनहरू निकै कठोर छन् । त्यस्ता मुलुक वा भूभागमा जटिल संरचना भएको ट्रस्ट खडा गरेर धनाढ्यहरूले आफ्नो सम्पत्तिको व्यवस्थापन गर्ने गरेका छन् ।

यसरी अपारदर्शी स्थानमा सम्पत्ति लुकाएर धनाढ्यहरूले घरजग्गा, विलासी जहाज (याट), जेट विमान लगायतका वस्तु खरिद गर्ने गरेका छन् र जटिल आर्थिक योजनामार्फत करछली गर्ने गरेका छन् । सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराध पनि उनीहरूले गर्ने गरेका छन् । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीहरू, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, केन्याका राष्ट्रपति उहुरु केन्याट्टा, बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर र उनकी पत्नी चेरी, पाकिस्तानका जलस्रोतमन्त्री मूनिस इलाही लगायतका राजनीतिकर्मीहरूको सम्पत्ति विदेशमा रहेको पाइएको छ । 

नेपालका खर्बपति व्यापारी विनोद चौधरी र उनको परिवार, गोल्छा अर्गनाइजेसनका व्यापारीहरू, किशोर राना, अजेयराज सुमार्गी, सुहृदराज घिमिरे लगायतले ट्याक्स ह्याभनमा कम्पनी खडा गरेर सम्पत्ति थुपारेको आईसीआईजेको सहयोगी संस्था खोज पत्रकारिता केन्द्रले जानकारी दिएको छ ।

प्यान्डोरा पेपर्समा धेरैजसो रुस र दक्षिण अमेरिकी मुलुकहरूका मानिसको नाम देखिन्छ । यी पेपर्समा एकजना पनि अमेरिकी राजनीतिकर्मीको नाम नरहेकाले यो कुनै लीक नभई अमेरिकाका गुप्तचर निकायहरूले ह्याकिङ गरेर दस्तावेज आईसीआईजेलाई उपलब्ध गराएको हुन सक्ने द ग्रे जोन नामक वेबसाइटका पत्रकार बेन्जामिन नोर्टनले आशंका गरेका छन् । आखिर आईसीआईजेको कार्यालय नै वाशिङटन डीसीमा छ ।

त्यस्तै आईसीआईजेले अमेरिकामा रहेका ट्रस्टहरूमा १ अर्ब डलरभन्दा बढीको सम्पत्ति रहेको भने पनि अमेरिकीहरूको नाम नलिँदा कतै यस खुलासामा सीआईएको हात त छैन भनी खोज पत्रकार किट क्लारेनबर्गले लेखेका छन् । 

नोर्टनले आईसीआईजेमा फोर्ड फाउन्डेसनले लगानी गरेको र त्यो सीआईएको सदाशयमा चलेको दाबी गरेका छन् । त्यस्तै नेटोको सदस्य मुलुक नर्वे, संसारका विभिन्न भागमा अस्थिरता फैलाउनका लागि सीआईएको इशारामा काम गर्ने अर्बपति जर्ज सोरोसको ओपन सोसाइटी लगायतको समूहले आईसीआईजेमा लगानी गरेको नोर्टन जानकारी दिन्छन् । 

अनि अमेरिकामा रहेका १०० जना जति पत्रकारहरू पनि यस परियोजनामा संलग्न रहेकोमा उनीहरूले एकजना पनि अमेरिकी धनाढ्य वा राजनीतिकर्मी फेला नपार्नु संयोग मात्र नभएको नोर्टनको भनाइ छ ।

नोर्टनको कुरामा विश्वास गर्ने हो भने प्यान्डोरा पेपर्स अमेरिकाले अन्य मुलुकहरूलाई भ्रष्टहरूको अखडाका रूपमा प्रस्तुत गरी बदनाम गर्ने प्रपञ्च हो । अमेरिकाको संस्थापन पक्षको आशीर्वाद रहेको थिंकट्यांक ब्रूकिङ्स इन्स्टिच्युसनका लागि क्लिफोर्ड जी ग्याड्डीले आईसीआईजेकै पनामा पेपर्सको विश्लेषण गर्दा यसको भूराजनीतिक सन्दर्भलाई पनि विचार गर्नुपर्ने लेखेका थिए ।

रुस र पश्चिमी मुलुकहरूबीच एकअर्कालाई अविश्वसनीय ठहर गर्नका लागि सूचनाका अनेकौं खेलहरू हुने गरेको उनी लेख्छन् । रुसले क्राइमिया हात पारेपछि हाइब्रिड वारफेयर अर्थात् सूचनाको लडाइँ शुरू गरेको थियो र पश्चिमले त्यसको जवाफ फर्काउनका लागि रुसका राष्ट्रपति पुटिनको निकटस्थहरूको भ्रष्टाचारलाई इंगित गरेको थियो । 

पनामा पेपर्समा पनि पुटिनका निकट रहेका एक व्यक्तिको गोप्य सम्पत्तिको कुरा उठाइएको थियो भने अहिले प्यान्डोरा पेपर्समा पनि पुटिनकी गोप्य प्रेमिका भनिएकी स्वेत्लाना क्रिभोनोगिखको सम्पत्तिको कुरा उठाइएको छ । तर पुटिन र उनका निकटस्थलाई दोषी ठहर गर्ने ठोस प्रमाण आईसीआईजेका पत्रकारहरूले प्रस्तुत गर्न नसकेको ग्याड्डीले त्यसबेलामा लेखेका थिए । रुसले प्यान्डोरा पेपर्समा लगाइएका आरोप आधारहीन रहेको भनी खारेज गरेको छ ।

क्लारेनबर्गका अनुसार, गत जुन महिनामा ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा भ्रष्टाचारविरुद्धको लडाइँको विषयमा चर्चा गरिएको थियो । अमेरिकी सरकारले आफ्नो परराष्ट्रनीतिको केन्द्रमा भ्रष्टाचारविरुद्धको लडाइँलाई राख्ने र यसलाई प्राथमिकता दिइने बताएका थिए । अन्य देशमा विद्यमान भ्रष्टाचारलाई उजागर गर्नका लागि पत्रकार, सूचनादाता तथा खोजमा संलग्न गैरसरकारी संस्थाहरूलाई प्रोत्साहन गर्ने वाशिङटनको ध्याउन्न छ । 

आशय बुझ्दा भ्रष्टाचार निवारणको लक्ष्य भन्दा पनि भ्रष्टाचारको अनुसन्धानलाई भूराजनीतिक हतियार बनाउने उद्देश्य अमेरिकाले लिएको देखिन्छ । त्यसो त अमेरिकाको बाइडन प्रशासनले मानवअधिकारलाई पनि परराष्ट्रनीतिको केन्द्रीय अवयव बनाएर यसलाई पनि भूराजनीतिक हतियारका रूपमा आफ्ना प्रतिस्पर्धी चीन र रुसविरुद्ध उपयोग गर्न खोजिरहेको छ । 

क्लारेनबर्गले अन्य महत्त्वपूर्ण प्रश्न पनि गरेका छन् । आईसीआईजेले प्यान्डोरा पेपर्सको दस्तावेज कहाँबाट प्राप्त गरेको हो ? त्यसको स्रोत उसले किन खुलाएन ? स्रोत खुलाउँदा कसलाई क्षति पुग्छ ? अमेरिकी संस्थापन पक्षलाई जोगाउनका लागि स्रोतलाई गोप्य राखिएको हो ?

यस चर्चाले प्यान्डोरा पेपर्सलाई महत्त्वहीन बनाएको अर्थ चाहिँ लाग्नुहुँदैन । विश्वका शक्तिशाली तथा धनाढ्यहरूले आफ्नो मुलुकमा करछली गर्ने अनि वित्तीय अपराधमा संलग्न हुने गरेको भयावह तथ्यलाई विश्वसामु छताछुल्ल पार्ने काम प्यान्डोरा पेपर्सले गरेकोमा त्यसको प्रशंसा गर्नैपर्छ । यसका आधारमा नेपाल समेत विभिन्न देशका सरकारले धनाढ्यहरूको सम्पत्तिको स्रोत तथा करदाखिलाको स्थितिका विषयमा गहिरो अनुसन्धान गर्नैपर्छ ।

तर अमेरिकाको संस्थापन पक्षलाई जोगाउने हिसाबले भूराजनीतिक हतियारका रूपमा खोज पत्रकारहरूलाई उपयोग गरेको जस्तो पनि देखिएकाले आईसीआईजेको प्रयासमाथि शंका उठाउन चाहिँ सकिन्छ । 
 

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्