लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको झाडापखाला प्रकोपलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । सोमबार रातिदेखि फैलिएको झाडापखालाको समस्या नियन्त्रण आउन नसकेपछि उनले सो निर्देशन दिएका हुन् ।
कपिलवस्तु बहादुरगञ्जका आसपासका जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा झाडापखालाका विरामी भएका छन् । सो महारमारीको बारेमा जानकारी पाउनासाथ उनले स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई रोकथामका लागि निर्देशन दिए ।
सचिव विकास देवकोटाले प्रदेश मन्त्रालयले स्वास्थ्य सामाग्रीसहित आवश्यक जनशक्ति पठाई सकेको बताए । साथै देवकोटाले गम्भिर विरामीहरुको लुम्बिनी प्रादेशिक र कपिलबस्तु अस्पतालमा उपचार भईरहेको समेत जानकारी गराए । साथै पानीका कारणले हैजा भएको हुन सक्ने भन्दै पानीको जाँच गरिरहेको बताए ।
झाडापखालाका कारण हालसम्म २ जनाको मृत्यु भइसकेको छ भने कयौँ विरामी छन् ।