
नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
एकीकृत समाजवादीले बानेश्वरको अर्पण पार्टी प्यालेसमा आयोजना गरेको स्थायी समिति बैठकमा जोशीलाई अध्यक्ष नेपालले स्वागत गरेका थिए ।
पार्टी प्रवेशपछि बोल्दै जोशीले एमालेलाई सुधार्न र एकताका लागि अन्तिमसम्म प्रयास गरेको तर त्यसको कुनै सम्भावना नदेखेर एमाले परित्याग गरेर एकीकृत समाजवादीमा आएको बताए ।
‘एमालेको विधान महाधिवेशनमा सहभागी भएँ, त्यो कुनै मेलाजस्तो लाग्यो । कम्युनिस्ट पार्टी नीति, सिद्धान्त र विचारबाट चल्नुपर्ने हो, तर एमाले यी सबै कुराबाट विचलित भएको महाविधेशनमा देखियो’, जोशीले भने, ‘अब एकीकृत समाजवादीमा इमान्दारितापूर्वक निष्ठाका साथ काम गर्ने प्रतिबद्धता नेतृत्वसामु गर्दछु ।’
जोशीलाई एकीकृत समाजवादीमा स्वागत गरेपछि बोल्दै अध्यक्ष माधव नेपालले एमालेले आयोजना गरेको विधान महाधिवेशनको नाममा भेला गरेको जमात र त्यसले अघि सारेका मान्यताहरू देखेर त्यसलाई सुधार्न नसकिने भयो, ठीक ठाउँमा ल्याउन नसक्ने भयो भनेर भानुभक्त जोशी एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेको बताए ।
‘सँगै काम गर्ने उच्च संकल्प बोकेर एकीकृत समाजवादीमा समाहित भएको जानकारी गराउनुभएको छ । पार्टी परिवारको तर्फबाट उहाँलाई स्वागत छ । पार्टीले उहाँलाई समुचित जिम्मेवारी प्रदान गर्नेछ । आजको बैठकले औपचारिक निर्णय गर्छ । अहिले पार्टीको स्थायी कमिटी सदस्यमा ल्याउने घोषणा गर्दछु’, नेपालले भने ।
मन्तव्यका क्रममा नेपालले केपी ओली कम्युनिष्ट आदर्श र आन्दोलनबाट च्युत भएको र त्यसको घोषणा भएको औपचारिक दिन हेर्न मात्रै बाँकी रहेको टिप्पणी गरे ।
‘केपी ओलीमा व्यक्तिवाद, गुटवाद, निरंकुश शैली हावी भएको छ । नयाँ यात्रामा केपी ओली गुटले अवरोध सिर्जना गर्नेछन् । भ्रमहरू सिर्जना गर्छन्, त्यसलाई चिर्नुपर्ने हुन्छ’, नेपालले भने ।
जोशीलाई स्वागत गर्दै नेपालले भने, ‘समाजवादको ध्येय र उद्देश्यलाई बिर्सेर केपी ओली यथास्थितिमा रहेको हुँदा लामो समयदेखि अन्तरसंघर्ष चलिरहेको थियो । त्यस पार्टीमा सामूहिकता र छलफल नामको कुनै पनि चिज छैन । त्यो प्राइभेट लिमिटेड कम्पनीमा रूपान्तरण हुन थालेको छ ।’