०८ असार २०८३, सोमबार

जनगणनामार्फत मातृ मृत्युदरबारे नेपालमा पहिलो पटक अध्ययन हुँदै

असोज २१, २०७८
जनगणनामार्फत मातृ मृत्युदरबारे नेपालमा पहिलो पटक अध्ययन हुँदै

नेपालमा पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनगणना २०७८ मार्फत पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको हो ।

मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको छ । 

मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका महिलाको मातृ मृत्युदर पत्ता लगाउन र सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुचयोग्य बनाउनका लागि अध्ययन गर्न थालिएको जानकारी दिए ।

उनले मातृ मृत्युदरको अध्ययनका लागि अहिले स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको बताए । अध्ययन गर्नका लागि स्वास्थ्यकर्मीलाई असोज ४ गतेदेखि कात्तिक १० गतेसम्म संघीय, प्रादेशिक र जिल्लास्तरमा प्रशिक्षक प्रशिक्षण र मौखिक परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइन थालिएको छ ।

उनले जनगणनाबाट प्रतिवेदन तयार पारिने र सोही प्रतिवेदन अनुसार मातृ मृत्यु रोकथामका लागि कार्यक्रम सञ्चालन गरिने बताए ।

मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा हुन लागेको अध्ययनमा जनगणनाका गणकले कुनै घरपरिवारमा गत १२ महिनामा १५ देखि ४९ वर्षको महिलाको मृत्यु भए नभएको यकिन गर्नेछन् । नेपालमा नै पहिलो पटक गर्न थालिएको अध्ययनमा पहिलो चरणमा जनगणना गर्दा मातृ मृत्युदर भएका संख्या पत्ता लगाउने र त्यसपछि ती पत्ता लगाइएका मातृ मृत्युको कारण पत्ता लगाउन पुनः दोस्रो चरणमा सम्पूर्ण विवरण लिइने छ । 

महिला गर्भवती, प्रसूति, सुत्केरी भएको ६ हप्ताभित्र र अन्य अवस्थामा भएको मातृमृत्यु दरको अध्ययन गरिने छ । कात्तिक २५ देखि मंसिर ९ सम्म (१५ दिन) मातृ मृत्यु भएको घरपरिवारको पहिचान गर्ने र त्यसपछि कात्तिक २६ देखि मङ्सिर मसान्तसम्म ती मातृ मृत्युदर के कसरी भयो भनेर मौखिक परीक्षण प्रश्नावली गरिने छ । 

अध्ययनका लागि ८४७ जना सर्वेक्षक परिचालन गरिने छ । महानगरपालिकामा ४, उपमहानगरपालिकामा ३ र नगरपालिका तथा गाउँपालिकामा १/१ स्वास्थ्यकर्मी खटिने छन् । नेपालमा सन् २०१६ को मातृ मृत्यु अनुपात २३९ रहेकोमा दीगो विकास लक्ष्य अनुरुप सन् २०३० मा ७० मा झार्ने लक्ष्य लिइएको छ । प्रजनन उमेर समूहका महिलाको मृत्युमध्ये १२ प्रतिशत मातृ मृत्यु रहेको पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्