०८ साउन २०८३, शुक्रबार

एमालेले राजीनामा मागेपछि लेखा समिति सभापतिले भने– २० वर्षको अवधिमा त्यस्तो भएको मलाई थाहा छैन !

असोज २४, २०७८
एमालेले राजीनामा मागेपछि लेखा समिति सभापतिले भने– २० वर्षको अवधिमा त्यस्तो भएको मलाई थाहा छैन !

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो राजीनामा मागेपछि सार्वजनिक लेखा समितिका सभापति भरत शाहले सभापति पद छाड्ने कि नछाड्ने आफ्नो स्वेच्छाको कुरा भएको बताएका छन् ।

२०५६ सालदेखि नै आफू सार्वजनिक लेखा समितिमा बस्दै आएको भन्दै उनले २० वर्षको अवधिमा कसैले पनि राजीनामा गएर गएको आफूलाई थाहा नभएको बताए ।

बैठकमा एमाले सांसद गोकुल बाँस्कोटाले लेखा समितिको सभापति प्रतिपक्षी दलको हुने भन्दै साहको राजीनामा मागेका थिए ।

'संसदीय मान्यताअनुसार लेखा समिति प्रतिपक्षी दलले पाउनुपर्ने हो । अहिलेसम्म पाइएको छैन,' बाँस्कोटाले भनेका थिए, 'सत्तामा पनि आफैं, लेखा समितिमा पनि आफैं, यो संसदीय मान्यता र प्रणालीकै विरुद्धको काम हो ।'

बाँस्कोटालाई जवाफ दिँदै साहले यसअघि तत्कालीन माओवादी सत्तामा रहँदा जनार्दन शर्मा र पछि डोरमणि उपाध्याय लेखा समितिको सभापति रहेको प्रसंग सुनाए ।

उनले सभामुख र उपसभामुख एउटै दलको हुनु नहुने संवैधानिक व्यवस्थाविपरीत तत्कालीन नेकपाबाटै सभामुख र उपसभामुख कायम रहेको नजिर पनि उल्लेख गरे ।

सामान्यतया लेखा समितिको सभापति प्रतिपक्षी दलबाटै चुनिने कुरा भने सत्य रहेको उनको स्वीकारोक्ति थियो ।

'लेखा समितिको सभापति विपक्षी दलबाटै चुनिने कुरा सत्य हो,' तर २० वर्ष भयो म यो समितिमा बस्दै आएको, कसैले पनि राजीनामा गरेर गएको थाहा छैन,' साहले भने ।

कांग्रेस प्रतिपक्षमा छँदा साह समितिको सभापति चुनिएका थिए । अहिले कांग्रेस प्रमुख सत्तारुढ दल हो भने एमाले प्रतिपक्षमा पुगेको छ ।

प्रतिपक्षमा पुगेकाले एमालेले लेखा समितिको सभापतिमा दाबी गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्