२६ जेठ २०८३, मंगलबार
जग्गा विवादको उत्कर्ष

बुटवल तनावग्रस्त– जिल्ला प्रशासनद्वारा मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी

असोज २४, २०७८
बुटवल तनावग्रस्त– जिल्ला प्रशासनद्वारा मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी
फाइल फोटो

बुटवलको मोतीपुरमा निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न भएको तनावका कारण कर्फ्यु आदेश जारी भएको छ ।

पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका- १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको हो । झडपका कारण मोतिपुर क्षेत्र तनावग्रस्त छ । प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे ।

उनले लोकान्तरसँग भने, ‘जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।’ घटनाको अन्य विवरण आउन बाँकी रहेको उनको भनाइ छ । 

अस्थायी रूपमा बनाइएका टहराहरू प्रहरीले भत्काउन खोज्दा झडप भएको हो ।

झडपमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन्।

राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको भनाइ छ । 

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।

प्रशासनले तीन दिनदेखि रातिमा टहराहरू भत्काउँदै आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो । 

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । 

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।

बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।

salt training

कमेन्ट गर्नुहोस्