
पूर्वी लद्दाखमा तनाव जारी रहेको अवस्थामा भारतले आइतवार चीनसँग १३औं चरणको सैन्य वार्ता गरेको छ ।
मोल्दोमा भएको वार्ता लगभग साढे ८ घन्टा चलेको थियो । भारतले आमनेसामनेको स्थिति रहेको बाँकी विन्दुहरूमा सैनिकहरूलाई छिटो फिर्ता बोलाउनका लागि जोड दिएको छ ।
उता चीनले भने भारतको असुहाउँदो मागका कारण वार्ता सफल नभएको बताएको छ ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डलाई उद्धृत गर्दै भारतले अनुचित माग राखेकाले वार्तामा अप्ठ्यारो स्थिति आइरहेको लेखेको छ ।
त्यसमा लेखिएको छ, ‘भारतीय पक्षले स्थितिको गलत आकलन नगर्ने, सीमावर्ती क्षेत्रमा कठिन स्थितिलाई सम्हाल्ने, सबै सम्झौता पालन गर्ने र दुई देशका सेनाबीच इमान्दारीपूर्वक काम गर्ने अपेक्षा चीनले गरेको छ ।’
कमान्डर स्तरको वार्तामा मुख्य रूपमा पट्रोलिङ पोइन्ट १५ बाट सैन्य फिर्ताको प्रक्रियामा केन्द्रित रह्यो । कुराकानी बिहान साढे १० बजे शुरू भएको थियो र साँझ ७ बजेसम्म चल्यो ।