०७ साउन २०८३, बिहीबार

गोकर्णेश्वरको गाई फार्ममा आगलागी : मर्ने मरिसके, घाइतेलाई बचाउन गाह्रो

कात्तिक २०, २०७४
गोकर्णेश्वरको गाई फार्ममा आगलागी : मर्ने मरिसके, घाइतेलाई बचाउन गाह्रो
काठमाडौं, ६ असार – गत शनिवार काठमाडौंको गोकर्णेश्वरस्थित एक गाई फार्ममा भयानक आगलागी भयो । उक्त गाई फार्मका सञ्चालक बाबुराम कार्कीका अनुसार आगलागीबाट झण्डै ६० वटा गाई मरिसकेका छन् ।

गाई फार्ममा रहेका कुल १ सय २२ गाईमध्ये झण्डै आधा संख्यामा गाई डढेर मरे । सञ्चालक कार्कीका अनुसार, बिजुली चुहिएर ‘शर्ट’ भएर उक्त आगलागी भएको थियो । झण्डै ५८ वटा गाई आगलागी भएकै दिनमा मरे भने घाईते भएका २५ मध्ये २ वटा गाई उपचारका क्रममा मरे ।



घाईते गाई पनि बाँच्ने स्थितिमा छैनन्

घाईते गाईको उपचारमा संलग्न पशु सेवा केन्द्र गोकर्णेश्वरका पशु विकास अधिकृत शंकरप्रसाद घिमिरेका अनुसार, घाईते अधिकांश गाईको अवस्था थप गम्भीर बन्दै गएको बताए । ‘गाईको उपचारका लागि हामीले अधिकतम् प्रयास जारी राखेका छौं,’ उनले भने, ‘तर अधिकांश गाईको अवस्था गम्भीर नै छ ।’

५/७ वटा गाईबाहेक बाँकी गाई बाँच्ने स्थितिमा नरहेको उनले बताए । ‘आगोले पोलेर गम्भीर घाउ लागेका गाई उठे बस्न नसक्ने, बसे उठ्न नसक्ने भएका छन् ।’ उनले भने । अहिले २३ वटा घाईते गाई बाँकी छन् ।

सञ्चालक कार्कीका अनुसार, घाईते गाईको उपचारका लागि अहिले पशु सेवा केन्द्र गोकर्णेश्वर, जिल्ला पशु सेवा कार्यालयका साथमा स्नेहा नेपाल, एनिमल नेपाल जस्ता संस्था  पनि क्रियाशील छन् ।

गाईको उपचारका लागि अहिले नियमित १० जना स्वास्थ्यकर्मी खटिरहेका घिमिरेले बताए ।

कसरी भयो आगलागी

सञ्चालक कार्कीका अनुसार, शनिवार बिहान नियमितझैं खाना आएर उनको परिवार र कामदार आराम गरिरहेका थिए ।

‘बिहान ११ बजे गाईलाई केही आहार हालेर, सरसफाई गरेर हामी खाना खान र आराम गर्नतिर लाग्यौं,’ कार्कीले लोकान्तरसँग भने, ‘तर, केही समयभित्रै फर्ममा आगलागी भएको देख्यौं ।’ आगो लागेको थाहा भएपछि उद्धारका लागि जाँदा जम्मा तीन वटा गाईलाईमात्र उद्धार गर्न सकेको उनले बताए ।

बिजुली शर्ट भएर उक्त आगलागी भएको सञ्चालक कार्कीले बताए । 

जीवनकै सबैभन्दा ठूलो संकट


भनिन्छ संकट बाजा बजाएर आउँदैन । कार्कीेले जिन्दगीमा यस्तो संकट यसअघि कहिल्यै भोग्नुपरेको थिएन् ।

कार्कीले गाई फार्म चलाउन थालेको ४ वर्ष भयो । ४ वर्षपछि आएर उनले यस्तो संकट व्यहोर्नुपर्यो कि उनी भन्छन, ‘यो संकट म जीवनभर भुल्न सक्दिनँ ।’ दुई वर्षअघि भूकम्पमा पनि उनले यति ठूलो संकट झेल्नुपरेको थिएन ।

साढे ४ करोडको लगानी

कार्कीले यो गाई फार्ममा साढे ४ करोड रुपैयाँ लगानी गरिसकेका छन् । यसभन्दा अघि भक्तपुरको खरिपाटीमा गाई फार्म चलाएका उनले ६ महिनाअघि मात्र गोकर्णेश्वरमा सारेका थिए । आफ्नै लगानीमा उनले उक्त फार्म चलाएका थिए । उनले त्यहाँ जग्गा पट्टा (लिज) मा लिएर फार्म चलाएका हुन् ।

फार्ममा आगलागी भएपछि उनमाथि निकै ठूलो सकस आइपरेको छ । ठूलो संख्यामा दूधालू गाई मरेपछि र बाँचेका गाईले पनि अब उत्पादकत्व दिन नसक्ने स्थिति भएपछि उनको लगानी डुबे सरह भएको छ । यद्यपि, उनले ६ महिना उमेर कटेका गाईको बिमा गरिसकेका थिए । बीमाबापतको रकम उनले पाउने भए पनि गाईसँग जोडिएको उनको संवेदना भने आगलागीसँगै चकनाचुर भएको छ ।

‘अब फार्म चलाउन्न होला’

आगलागी भएसँगै सञ्चालक कार्की बेचैन देखिन्छन् । अब भने उनी गाई फार्म नचलाउने मनसायमा छन् । ‘सम्भवतः अब फार्म चलाउँदिनँ होला,’ उनी भन्छन् । आफूले निकै कष्टका साथ यो स्थितिमा ल्याएको गाई फार्म पूर्ववत् अवस्थामा आउन अब वर्षौं लाग्ने उनी बताउँछन् ।

प्राज्ञको अजिवको पशुमोह

कार्की दिनरात गाईकै स्याहारसुसारमा खटिरहन्छन् । उनी र उनको परिवार पनि फार्ममै बस्छन् । फार्मसँगै जोडिएको कोठामा उनी श्रीमती र २ छोराछोरीका साथ बस्छन् । उनको स्थायी ठेगाना भने ओखलढुंगा होे ।

झट्ट हेर्दा उनी सामान्य देखिन्छन, जीवनशैली सामान्य छ, फार्ममै बस्छन्, तर उनी आफैंचाहिँ प्राज्ञिक क्षेत्रका व्यक्ति हुन् । उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अध्यापन गराउँछन् । त्यहाँ उनी अर्थशास्त्रका उपप्राध्यापक हुन् ।

सकिए ४० लिटर दूध दिने गाई

कार्कीका अनुसार, उनले पालेका ती गाई अहिले किन्न खोज्दा पनि हत्तपत्त पाइँदैनन् । उनले पालेका ती गाई हल्याण्डबाट ल्याइएका होलिस्टिन प्रजातिका गाई हुन् । ‘ती गाईले दैनिक ४० लिटरसम्म दूध दिन्थे,’ उनी भन्छन् । दूध बेचेर दैनिक १५ देखि २० हजार रुपैयाँसम्म कमाई हुने उनले बताए । ‘यस्ता गाई त अहिले खोजेर पनि पाइँदैनन्,’ कार्की थप्छन् ।

अपेक्षित सरकारी सहयोग आएन

सञ्चालक कार्कीले घाईते गाईको उपचारबाहेक अन्य सहयोग सरकारबाट प्राप्त नभएको बताए । आगलागी भएको भोलिपल्ट आइतवार पशुपन्छी सचिव डा. युवकध्वज जिसीले सहयोगका लागि आफूले अधिकतम प्रयास गर्ने प्रतिवद्धता जाहेर गरेर गएका थिए । त्यस्तै, सोमवार पशु सेवा निर्देशनालयबाट निर्देशक फार्ममा पुुगेका थिए । ‘घाईते गाईको उपचारबाहेक अन्य सहयोग अहिलेसम्म सरकारबाट प्राप्त हुन सकेको छैन,’ कार्कीले भने ।

फोटोहरु : अशोक महर्जन

कमेन्ट गर्नुहोस्