
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दशैंमा पनि कामलाई निरन्तरता दिएको छ ।
आयोजनाको ३ वटै प्याकेजका काम दशंैमा पनि निरन्तर सञ्चालन भइरहेको छ ।
प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई दशैं बिदामा पनि नरोकी सञ्चालन गरिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।
‘३ वटै प्याकेजको काम दशैंमा रोकिएका छैनन्, कामहरू निरन्तर भइरहेका छन्,’ उनले भने ।
प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरू गरिरहेको छ । सो प्याकेजअन्तर्गत हाल ५ ठाउँमा काम भइरहेको छ । आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्यांक लगायतका कामलाई दशैंमा पनि निरन्तरता दिइएको छ ।
हाल ५५ जना चिनियाँ प्राविधिक, कामदारसहित २१५ जनाले प्याकेज–२ अन्तर्गतको काम गरिरहेका छन् । ‘दशैं अगाडि ५०० कामदार थिए, ग्याविन वाल भर्ने, पहुँचको काम गर्नेलाई दशैं बिदा दिइएको छ,’ उनले भने, ‘बाँकी सबै क्याम्पमै बसेर काम गरिरहेका छन् ।’
सिनो हाइड्रोले हालसम्म ५ वटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्यांक जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । २१५ मिटरको ट्रेलरेस सुरुङको काम भने भर्खरै शुरू गरिएको छ ।
आयोजना प्रमुख घिमिरेका अनुसार जम्मा सुरुङको काम ५० प्रतिशत सकिएको छ ।
प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । प्याकेजअन्तर्गत हालसम्म २७ वटा फाउन्डेसनको काम सकिएको छ भने ६ वटा फाउन्डेसनको काम चलिरहेको छ । कूल ९४ मध्ये २० वटा टावरका लागि सामग्री आउने क्रममा रहेको उनले जानकारी दिए ।
‘७४ वटा टावर साइटमा आइसकेको छ, बाँकी २० वटा आउने क्रममा छ,’ आयोजना प्रमुख घिमिरेले भने, ‘७ वटा टावर भने तयार भइसकेको छ ।’
प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने संख्या घटेकाले आईई पुनरावलोकन गरी स्वीकृतिका लागि विद्युत् विकास विभाग पठाइएको उनले जानकारी दिए ।
प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी ५ आना) जग्गा अधिग्रहण गर्न १ करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा निर्धारण भएको छ ।
प्याकेज–१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । प्याकेजअन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजका लागि ८ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् । त्यस कामका लागि दशैं अगाडि खटिएका ७५ जना मजदुरलाई दशैं बिदा दिइएको छ ।
कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि, नेपाल जेभीसँग सम्झौता गरेको थियो । उनीहरूले अहिले साइटमा क्याम्प निर्माण, रिभर क्रसिङ सम्बन्धी काम गरिरहेका छन् । विस्तृत सर्वेक्षण र डिजाइनको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि १६ अर्ब ६२ करोड (प्रोभिजनल रकम र मूल्य अभिवृद्धि करबाहेक) मा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।
आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सीएमसी डी राभेना, इटालीसँग विक्रम संवत् २०७५ असोज १५ गते सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विक्रम संवत् २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो ।
कम्पनीले बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरू सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरू अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरूप विक्रम संवत् २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।
आयोजनाले सामाजिक उत्तरदायित्व बहन कार्यक्रमअन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । विद्युत् सेवा नपुगेका ग्रामीण भेगमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ ।
भीमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्नका लागि पनि आयोजनाले सहयोग गरेको छ ।
आयोजनामार्फत् नै तनहुँका विभिन्न ठाउँमा विद्युतीकरणको काम समेत आगाडि बढेको छ । आयोजनामार्फत् जिल्लाका घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गरिने छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । – कृष्ण न्यौपाने/रासस