जैविक विविधता संरक्षणमा चीन

राष्ट्रसंघकी अधिकारी भन्छिन्– चीन विश्वव्यापी जैविक विविधताको बलियो समर्थक र योगदानकर्ता

राष्ट्रसंघकी अधिकारी भन्छिन्– चीन विश्वव्यापी जैविक विविधताको बलियो समर्थक र योगदानकर्ता
२०७८ भदौ २६ मा लिइएको यस तस्वीरले चीनको दक्षिणपश्चिममा रहेको युन्नान प्रान्तको कुनमिङ शहरमा जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्षराष्ट्रहरूको सम्मेलन (कोप१५) को १५औं बैठक आउन ३० दिन बाँकी रहेको जनाउने समारोहलाई चित्रित गरेको छ (तस्वीर सौजन्य : ल्याङ चिछ्याङ/सिन्ह्वा)


चीनले जैविक विविधताको संरक्षणका लागि ठूलो सहयोग गरेको र त्यसमा सार्थक योगदान गरेको संयुक्त राष्ट्रसंघकी एक अधिकारीले बताएकी छन् । चीनले ल्याएको वातावरणीय सभ्यतासम्बन्धी दर्शन ‘विश्वव्यापी जैविक विविधताको लक्ष्य हासिल गर्न सबै देशका लागि महत्त्वपूर्ण’ रहेको पनि उनले बताइन् । 


Advertisement

‘वातावरणीय सभ्यता रमाइलो अवधारणा हो । अनि यो किन रमाइलो छ त ? किनकि यसले समाज र प्रकृतिबीचको सम्बन्ध हेर्छ,’ जैविक विविधतासम्बन्धी महासन्धिकी कार्यकारी सचिव एलिजाबेथ मारुमा म्रेमाले बताइन् । 


Advertisement

यस अवधारणाले ‘विभिन्न क्षेत्र तथा विभिन्न विभागमा जैविक विविधता मूलधारको विषय भएको भनी देखाएको छ र सबै मुलुकले विश्वव्यापी जैविक विविधताको लक्ष्य हासिल गर्नका लागि पनि यो महत्त्वपूर्ण छ,’ उनले सिन्ह्वालाई हालै दिएको अन्तर्वार्तामा बताइन् । 

चीनको दक्षिणपश्चिममा रहेको शहर कुनमिङमा जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्षराष्ट्रहरूको सम्मेलन (कोप१५) को १५औं बैठकमा सहभागी हुन म्रेमा चीन आइपुगेकी हुन् । 


Advertisement

‘वातावरणीय सभ्यता : पृथ्वीमा सबै जीवको साझा भविष्य बनाउने प्रयास’ शीर्षकको यो बैठक वातावरणीय सभ्यता विषयमा संयुक्त राष्ट्रसंघले आयोजना गरेको पहिलो विश्वव्यापी सम्मेलन हो । 

बैठकको पहिलो सत्र असोज २५ गते शुरू भएको हो । त्यसमा सहभागीहरूले भविष्यमा जैविक विविधताको संरक्षणका लागि खाका तयार पार्न ‘२०२० पछिको विश्वव्यापी जैविक विविधता संरचना’ को समीक्षा गर्नेछन् । दोस्रो सत्रको आयोजना सन् २०२२ को पहिलो ६ महिनाभित्र व्यक्तिहरूको सशरीर उपस्थितिका साथ गरिनेछ र त्यसमा महत्त्वाकांक्षी तथा व्यावहारिक संरचनाभित्र रही बृहत्तर र गहन सम्झौता गरिनेछ ।

‘यस संरचनाले विगत १० वर्षमा हाम्रो कार्यान्वयनलाई निर्देशन गरिरहेको आइची जैविक विविधता लक्ष्यलाई वास्तवमा विस्थापित गर्नेछ,’ उनले बताइन् । 

बैठकको पहिलो भागमा कुनमिङ घोषणालाई अंगीकार गरिने अपेक्षा म्रेमाले राखेकी छन् । त्यसले ‘जैविक विविधता संरक्षणको महत्त्वका विषयमा गति प्रदान गर्न’ तथा ‘जैविक विविधताको क्षतिलाई तत्कालै सम्बोधन गर्न आवश्यक छ’ भनी देखाउन सहायता गर्ने उनको भनाइ छ । 

विगत कैयौं दशकदेखि ‘चीन विश्वव्यापी जैविक विविधताको सुदृढ समर्थक तथा योगदानकर्ता रहिआएको छ’, उनले बताइन् । 

जैविक विविधतासम्बन्धी महासन्धिको पक्षराष्ट्र बन्ने प्रारम्भिक लहरका मुलुकमा चीन पर्ने म्रेमाले उल्लेख गरिन् । चीन उक्त महासन्धिका दुई आलेखहरू जैविक सुरक्षासम्बन्धी कार्टानेगा आलेख र पहुँच तथा लाभलाई साझा गर्ने कामसम्बन्धी नागोया आलेखको पक्षराष्ट्र हो । 

२०७८ भदौ १० मा खिचिएको यस तस्वीरले चीनको उत्तरपश्चिममा रहेको गान्सु प्रान्तस्थित लोङनानको दाङचाङ काउन्टीमा रहेको ग्वानइगोउ राष्ट्रिय निकुञ्जस्थित चताङ तालको दृश्य प्रस्तुत गरेको छ । (सिन्ह्वा/मा सिपिङ)

यसबाहेक ‘चीन विशेषगरी सन् २०१९ देखि महासन्धि र आलेखहरूको केन्द्रीय बजेटमा योगदान गर्ने सबभन्दा ठूला दातृराष्ट्रमध्ये एक हो’, म्रेमाले बताइन् । 

कोप१५ सम्मेलनको आयोजना गरेर ‘चीनले जैविक विविधताको सवालमा नेतृत्व तथा प्रतिबद्धताको स्पष्ट प्रदर्शन गरेको’ उनले बताइन् । 

म्रेमाले विगतका दशकहरूमा जैविक विविधताको जगेर्ना तथा संरक्षणका लागि चीनले गरेको पुनर्जागरण सम्बन्धी प्रयासलाई पनि उच्च मूल्यांकन गरेकी छन् । चीनका यी प्रयासले भविष्यमा गर्नुपर्ने कामहरूको राम्रो नमूना प्रस्तुत गरेको र अन्य मुलुकले पनि यसलाई अनुकरण गर्न तथा सिक्न सक्ने उनको भनाइ छ ।

‘चीन सरकारले जैविक विविधताको क्षतिलाई रोक्न तथा उल्ट्याउनका लागि दीर्घकालीन उपाय अवलम्बन गरिरहेको छ । त्यसका लागि बनाइएका विभिन्न क्षेत्रका टोलीहरूले सामाजिक तथा आर्थिक जटिलतालाई सम्बोधन गर्ने उद्देश्यका साथ प्रमाणमा आधारित समाधान उपलब्ध गराउन सक्छन् । साथै तिनीहरूले समावेशी तथा सुगम नीतिगत दिशाहरू पनि उपलब्ध गराउन सक्छन् जसमा वातावरणीय लक्ष्मणरेखा नीति पनि पर्छ । यसले भविष्यका असर तथा झड्काहरूलाई सहन सक्ने उत्थानशील वातावरण निर्माण गराउनेछ,’ उनले बताइन् ।

‘र प्रकृति तथा मानवको एकतासम्बन्धी चिनियाँ अवधारणा अन्य मुलुकले अनुसरण वा अनुकरण गर्नका लागि राम्रो उदाहरण बन्ने हाम्रो आशा छ,’ उनले थपिन् । 

जैविक विविधता संरक्षणका चुनौतीको विषयमा बोल्दै म्रेमाले कोभिड–१९ महामारीले हाम्रो स्वास्थ्य तथा जैविक विविधता दुवैलाई असर पारेकाले त्यो ‘प्रमुख चुनौती’ भएको बताइन् ।

चीनको उत्तरपश्चिममा रहेको छिङहाई प्रान्तस्थित होह सिल राष्ट्रिय प्रकृति आरक्षमा देखिएका तिब्बती मृगहरू, २०७८ वैशाख ७ । (सिन्ह्वा/वु गाङ)

सन् २०१९ मा सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले जैविक विविधताको क्षतिका पाँच प्रत्यक्ष कारणहरूको पहिचान गरेको थियो : समुद्र र जमीनको बदलिँदो उपयोग, जीवहरूको चरम शोषण, जलवायु परिवर्तन, प्रदूषण तथा अमौलिक प्रजातिको अतिक्रमण ।

जैविक विविधताको क्षति रोक्नका लागि सारा संसारले जमीन र महासागरहरूलाई प्रभावकारी रूपमा संरक्षण गर्नुपर्ने, दिगो उपभोग तथा उत्पादनको सुनिश्चितता गर्नुपर्ने, प्रकृति संरक्षणमा सबै व्यक्तिलाई सहभागी गराउने सुनिश्चितता गर्नुपर्ने र सरकारहरू तथा सबै सरोकारवालाहरूका बीच सहकार्य बढाउनुपर्ने आवश्यकता रहेको म्रेमाले बताइन् । 

‘प्रकृतिसँगको सुमधुर सम्बन्ध सुनिश्चित गर्ने परिवर्तनकारी कार्यका लागि हामी जिम्मेवार छौं । त्यसैले प्रकृतिसँग हाम्रो सम्बन्धमा परिवर्तन गर्नुपर्छ,’ उनले बताइन् । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्