२६ जेठ २०८३, मंगलबार
टीकाको दिन सन्तान प्राप्त हुने भाग्यमानीहरू

जो दशैंको टीकाकै दिन आमाबुवा बने

कात्तिक १, २०७८
जो दशैंको टीकाकै दिन आमाबुवा बने

थापाथलीस्थित प्रसुती गृहको सुत्केरी कक्षमा आइतवार पुग्दा अन्दाजी २०/२२ वर्षकी एक महिला श्रीमानको सहारामा विस्तारै शौचालयतर्फ जाँदै थिइन् ।

बेडमा अर्की एक महिलाले दुई दिनअघि जन्मिएकी नवजात शिशुलाई स्याहारसुसार गरिरहेकी थिइन् । उनी ती बालिकाकी फुपू रहिछन् ।

'यिनी मेरी भदैनी हुन्, टीकाको दिन जन्मिएकी,' ती महिलाले भनिन् ।

घर खोटाङ र गौशालामा डेरा गरेर बस्दै आएको उनले सुनाइन् । टीकाकै दिन भदैनी जन्मिँदा उनी निकै खुशी छिन् ।

'भदैनी टीकाको साइतमै जन्मिँदा आनन्द लागेको छ । दुई दिन अगाडिदेखि अस्पताल आएका थियौं । पहिला त नर्मल डेलिभरी हुने सोचेका थियौं, तर बच्चाले पेटभित्र आची गरेको भनी डाक्टरहरूले भने अनि एक्कासि सिजर गर्नुपर्‍यो ।'

आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको भन्दै उनले खुशी प्रकट गरिन् ।

नवजात शिशुका बुवा नितेश राईले बच्चाले पेटभित्र आची गर्‍यो भनेर डाक्टरले भनेपछि निकै डर लागेको, तर अपरेशन सफल भएर छोरीलाई पहिलोपटक देख्दा निकै आनन्द लागेको सुनाए ।

'अप्रेसन सफल भएर छोरीलाई पहिलोचोटि देख्दा सबै डर भाग्यो र आनन्द आयो,' उनले भने ।

सँगै रहेकी दिदीले थपिन्, 'पहिलो फोन आमालाई गरें । टीका लगाउँदै हुनुहुँदोरहेछ ।'

डिस्चार्ज भएपछि केही दिन काठमाडौं बसेर गाउँ जाने योजनामा उनीहरू छन् ।

****

धादिङका राजकुमार घर्ती पनि टीकाकै दिन बुवा बने ।

थापाथलीस्थित परोपकार प्रसुती गृहमा टीकाको दिन उनको छोराको जन्म भयो ।

डाक्टरले क्रिटिकल अवस्था छ भनेपछि डराएका उनले छोराको अनुहार देख्दा निकै आनन्द महशुस भएको सुनाए ।

'छोराको अनुहार देखेपछि मेरो सबै डर चिन्ता हरायो । उसको अनुहार हेरेरै बसेँ । अनि फोटो खिचेर सामाजिक सञ्जालमा पनि राखें,' उनले भने, 'त्यसपछि साथीभाइ, इष्टमित्र सबैको फोन आउन थाल्यो । बधाईको ओइरो लाग्यो । टीकाकै दिन छोरो जन्मिएकोमा निकै खुशी लागेको छ ।'

****

सँगैको बेडमा रहेकी अर्की एक महिलाले पनि आफ्नो छोरा टीकाकै दिन जन्मिएको सुनाइन् ।

'टीकाकै दिन छोरो जन्मिँदा निकै खुशी लागेको छ । यो मेरो दोस्रो सन्तान हो,' उनले थपिन्, 'आमाको माया नै पाइनँ, सानैमा बित्नुभयो । अब यही दुई सन्तानलाई आमाको माया दिएर हुर्काउँछु ।'

सिन्धुपाल्चोक घर भएकी उनले हाल काठमाडौं बस्दै आएको सुनाइन् ।

दोस्रोपटक आमा बनेकोमा खुशी भएपनि उनको शरीरमा भने अझै पीडा छ ।

'दुई-दुईपटक अपरेशन गरेकाले शरीरलाई धेरै नै गाह्रो भएको छ,' उनले सुनाइन् ।

salt training

कमेन्ट गर्नुहोस्