भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखाको दुई किलोमिटर दूरीमा गोलीबारुद चलाउन नपाइने सम्झौता छ ।
त्यसैले पोहोर साल गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच भिडन्त हुँदा चिनियाँ जनमुक्ति सेनाका जवानहरूले काँडेदार मुंग्रो उपयोग गरेको पाइएको थियो ।
अहिले भारतीय सैनिकहरूका लागि गोलीबारुद बाहेकको हतियार उपलब्ध गराइने भएको छ ।
भारतको नोइडामा रहेको एक स्टार्टअप कम्पनीले भारतीय सुरक्षाबललाई चिनियाँ बलसँग भिड्नका लागि ननलिदल हतियार उपलब्ध गराउन लागेको हो ।
शिवजीको त्रिशूल जस्तो परम्परागत भारतीय हतियार उक्त कम्पनीले बनाएको छ ।
‘गलवान भिडन्तमा हाम्रा सैनिकहरूविरुद्ध चिनियाँहरूले काँडेदार मुंग्रो र टेजर प्रयोग गरेपछि भारतीय सुरक्षाबलले हामीलाई ननलिदल उपकरण विकसित गर्न भनेको थियो । चिनियाँहरूले पनि आफ्नो परम्परागत हतियार उपयोग गरेका थिए,’ आपास्टेरोन प्राइभेट लिमिटेडका प्रमुख प्रविधि अधिकारी मोहित कुमारले समाचार संस्था एएनआईलाई बताए ।
‘हामीले पनि परम्परागत हतियारबाट प्रेरित भएर भारतीय सुरक्षाबललाई टेजर तथा ननलिदल हतियार बनाएर दिएका छौं,’ कुमारले बताए ।
कुमारले धातुबाट बनेको काँडेदार टेजर पनि देखाए । त्यसलाई वज्र नाम दिइएको छ । यसले शत्रु सैनिकहरूमाथि आक्रमण पनि गर्न सकिन्छ अनि उनीहरूको बुलेटप्रूफ गाडीको टायर पनि पंक्चर गर्न सकिन्छ ।
त्यस्तै त्रिशूलले दुश्मनलाई बिजुलीको झड्का लगाउन अनि प्रतिबन्धित क्षेत्रमा आएका गाडीलाई रोक्न पनि सकिन्छ ।
त्रिशूललाई जाडो छेक्ने पञ्जा जस्तो गरी लगाउन सकिन्छ र एक वा दुई मुक्का हानेर शत्रुका सैनिकहरूमाथि करेन्ट लगाउन सकिन्छ ।
तर यी हतियारले शत्रुलाई मार्ने वा गम्भीर घाइते बनाउने काम गर्दैछन् । भिडन्त हुँदा शत्रुलाई झड्का दिएर एकछिनका लागि हलचल गर्न नसक्ने बनाउँछन् ।
#WATCH 'Trishul' and 'Sapper Punch'- non-lethal weapons-developed by UP-based Apasteron Pvt Ltd to make the enemy temporarily ineffective in case of violent face offs pic.twitter.com/DmniC0TOET
— ANI (@ANI) October 18, 2021