
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।
बबरमहलस्थित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको सोमवार निरीक्षणपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिए ।
सरकारी सेवा जनताले छिटोभन्दा छिटो पाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले ढिलासुस्ती नगर्न निर्देशन दिए । ‘हामी जनताका सेवक हौं, काममा ढिलाइ नहोस्,’ उनले भने, ‘केही समस्या परे सहजीकरण गर्न म तयार छु ।’
मन्त्री श्रेष्ठले दुवै कार्यालयबाट प्रवाह भइरहेका सेवाका बारेमा जानकारी लिएका थिए । मन्त्री श्रेष्ठले आइतवार मन्त्रालयमा कार्यरत श्रमिकहरूका गुनासो सुन्दै काम शुरूआत गरेका थिए ।
मन्त्री श्रेष्ठले विदेशमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न आग्रह गरे । यूएई र साउदी अरबका राजदूतसँग भेटघाट गर्दै मन्त्री श्रेष्ठले यूएई र साउदी अरबमा अलपत्र परेका, मृत्यु भएका र जेलमा रहेका नेपाली श्रमिकको उद्धारमा आवश्यक सहयोग गर्न आग्रह गरे ।
विभिन्न कारणले विदेशमा अलपत्र परेका र जेलमा रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई छिटोभन्दा छिटो नेपाल फर्काउन श्रममन्त्री श्रेष्ठले सम्बन्धित राजदूतलाई आग्रह गरेको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठसँग यूएईका राजदूत साइद हमदार मोहम्मद अल नक्की र साउदी अरबका राजदूत मुसेद वनि सुलेमानले महाराजगञ्जस्थित मन्त्री श्रेष्ठको निवासमा भेटघाट गरेका थिए । सो अवसरमा राजदूतहरूले श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै २ देशबीचको हितका लागि आपसी समझदारीमा काम गर्ने बताए ।