
अविरल वर्षापछिको पहिरो तथा बाढीमा परेर देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार डोटीको सायल गाउँपालिका-६ मेल्लेख बस्ने वीर बहादुर कुन्जेडाको घर सोमबार राति भत्किँदा पुरिएर उनकै छोराद्वय १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिस कुन्जेडाको मृत्यु भएको छ । घर भत्किँदा वीर बहादुर, उनकै श्रीमती बासुदेवी कुन्जेडा र छोरी ७ वर्षीया बिन्दा कुन्जेडा घाइते भएका छन् ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने बिशाल राईको कच्ची घरमा मंगलबार दिउँसो पहिरो गई पुरिँदा उनकै छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राईको मृत्यु भएको छ । उनीहरु पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो ।
उता डडेल्धुराको अमरगढी नगरपालिका-१ तडीपाटा बस्ने भिम रावलको कच्ची घरमा सोमबार राति पहिरो जाँदा घर पूर्णरुपमा क्षति भएको छ । पहिरोमा परेर भिमकै बुहारी समेत २ जना घाइते भएका छन् । साथै घरसँगै रहेको गोठमा भैसी, गाई, गोरु, बाख्रा, कुखुरा, खाद्यान्न लगायतका सामान पुरिएर क्षति भएको छ ।
यसैगरी डडेल्धुराकै पर्शुराम नगरपालिका-६ तातापानीस्थित महाकाली नदीको बहाव बढेर २ सय ५० रोपनी जमिन कटान गर्दा २८ घरका १ सय ८० जना घरपरिवार जोखिममा परेका छन् ।
घटनास्थलमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अन्य सुरक्षा निकायसँगको समन्वयमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।