
प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जन गर्न अमेरिका तयार भएको दाबी गरेका छन् ।
सरकारी सञ्चारमाध्यम गोरखापत्रलाई बुधवार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले अमेरिका एमसीसी सम्झौता परिमार्जन गर्न तयार रहेको जिकिर गरेका हुन् ।
'एमसीसी विशुद्ध नेपालको हितमा छ,' प्रधानमन्त्री देउवाले भनेका छन्, 'त्यही पनि एमसीसीमा ‘करेक्सन’ गर्न अमेरिका(ले) तयार छु भनेको छ । अमेरिकाले नेपालको कानूनभन्दा माथिको होइन भनेर भनिसकेको छ ।'
'अमेरिकी सरकारले दिएको विकास अनुदान सहयोग एमसीसीलाई राजनीतिक रूपमा गिजोल्ने प्रयास भइरहेको छ । एमसीसी सम्झौता कार्यान्वयनमा अझै पनि एक खालको अलमल र विवाद देखिएको छ, यो कहिले टुङ्गिन्छ होला ?' भन्ने प्रश्नको जवाफमा देउवाले भनेका छन्–
एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन । एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’ हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ । त्यही पनि एमसीसीमा ‘करेक्सन’ गर्न अमेरिका तयार छु भनेको छ । अमेरिकाले नेपालको कानूनभन्दा माथिको होइन भनेर भनिसकेको छ । वास्तवमा विश्व बैंककै कुरा गर्ने हो भने ऊसँग झगडा भयो भने अन्तर्राष्ट्रिय कानून आकर्षित हुन्छ । एडीबी, आईएमएफमा पनि त्यही हो । तिनका जति पनि ऋण छन् त्यस विषयमा मुद्दा परेमा अन्तर्राष्ट्रिय कानुनअनुसार जान्छ । नेपालको कानुनले हेर्नै पाउँदैन । यो सन्दर्भलाई नेपालको कानुनभन्दा माथि भनेर बखेडा निकालिएको छ ।