
वर्षाका कारण कैलाली, कञ्चनपुरमा भित्र्याउन ठिक्क पारेको धानबाली नष्ट भएको छ ।
आइतवार रातिदेखिको अविरल वर्षाका कारण धानबाली सखाप भएपछि किसान चिन्तित बनेका छन् । किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै छैन, नदीले बगाएको समेत छ ।
विगत केही दिनदेखि परेको बेमौसमी वर्षाका कारण खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् ।
खेती भित्र्याउने बेला अचानक अविरल वर्षा परेपछि धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई मार परेको छ ।
किसान अङ्गुरा राना आफूले लगाएको सम्पूर्ण धानबाली नष्ट भएको र आफ्नो परिवारको बिचल्ली हुन लागेको बताए ।
वर्षाका कारण कञ्चनपुरका सयौँ किसानको हजारौँ बिघा जमिनको धान भिजेको छ । आगामी दिनमा भोकमरी हुने चिन्ताले किसानलाई सताएको छ । आगामी दिनमा पीडित किसानहरुका लागि खाद्यान्नको व्यवस्था गरिनुपर्ने र किसानलाई मल, बिउको व्यवस्थापन सरकारले गरिदिनुपर्ने किसान घनश्याम पन्त बताउँछन् ।
वर्षाले बालीमा क्षति पुर्याएपछि कृषि विकास निर्देशनालय दिपायलले मातहतका कार्यालयसँग समन्वय गरी किसानको अवस्था र वर्षाले पुर्याएको क्षतिको विवरण संकलन गर्न टोली परिचालन गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रको टोलीले कैलाली, कञ्चनपुरका किसानहरूको खेतमै पुगेर निरीक्षण गरेको छ । निरीक्षण टोलीमै रहेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टले वर्षाका कारण हजारौँ बिघाको धान नष्ट हुँदा अर्बौंको क्षति भएको बताए ।
स्थानीय तहहरूले निरीक्षण र क्षतिको विवरण संकलन गरिरहेका छन् । विवरण संकलनपछि आवश्यक क्षतिपूर्ति र अनुदान उपलब्ध गराइने शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले बताए ।
सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्यांक छ ।
सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन रहेको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।
यस वर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको भए पनि निरन्तरको बेमौसमी झरीले उत्पादनमा ह्रास आउने आकलन गरिएको छ ।