
काठमाडौंको माइतीघर–तीनकुने सडक खण्डको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा सोमवार ठूलो खाल्डो पर्यो ।
अन्तर्राष्ट्रियस्तरको निर्माण गरिएको भनिएको सडकमा एउटा पूूरा लेन नै ढाक्ने गरी ५ मिटर लम्बाइ, त्यत्ति नै मिटर चौडाइ र करीब ५ फिट गहिरो खाल्डो परेको देखियो ।
१ वर्षअघि २०७७ असारमा मध्यबानेश्वरको मुख्य सडककै बीचमा गाडी नै छिर्न सक्ने ठूलो खाल्डो पर्यो । राजधानीमा सडक भासिने यो २ वटा घटना उदाहरण मात्र हुन् ।
राजधानीमा स–साना रूपमा सडक भासिने, सडकमै खाल्डो पर्ने घटना प्रायः दैनिक नै हुने गरेको पाइन्छ ।
आखिर किन भासिन्छन् राजधानीका सडकहरू ? किन सडकमा पर्ने गर्छन् खाल्डो भन्ने जिज्ञासामा गुणस्तरहीन सडक र खानेपानी पाइप तथा ढल निर्माणको काम हुनु तथा दिनहुँ भइरहेको जमिनमुनिको पानीको दोहन, सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको सम्बन्धित विज्ञहरूको धारणा छ ।
दैनिक करोडौं लिटर पानी जमिनमुनिबाट निकालिन्छ तर त्यसको सट्टामा ‘रिचार्ज’ नहुनुले हाम्रो जमिनमुनिको माटो भाग नै भासिँदै गएको उनीहरूको धारणा छ । नेपाल सरकारका पूर्व सहसचिव तथा वरिष्ठ इन्जिनियर राजेन्द्र शर्माले सडक तथा ढलको गुणस्तरहीन निर्माण तथा निर्माणको क्रममा हुने गरेको हेलचक्र्याइँ नै सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको बताउँछन् ।
उनी भन्छन्, ‘सडकमुनि ढल बनाउँदा पाइप/पाइपबीच र पाइप र भड्खालोबीच हुने जोर्नी राम्रोसँग ‘सिल’ नहुँदा पानी चुहिने गरिन्छ । यसरी चुहिने पानीले तलको माटो, बालुवालाई बगाउँदा त्यहाँ खाली ठाउँ हुन्छ र माथिबाट सवारीसाधन गुड्दा सडक भासिने र भड्गालो पर्ने गर्दछन् ।’
राजधानीको धेरैजसो सडक भासिने र भड्खालो पर्न सक्ने उनको बुझाइ छ ।
प्राविधिक ज्ञान नभएका कामदारको भरमा निर्माण कार्य हुनु, निर्माण कार्यको अनुगमन नहुनुजस्ता हेलचक्र्याइँले गुणस्तरहीन निर्माण हुँदा यस प्रकारको समस्या आउने गरेको उनको धारणा छ । उनी अगाडि भन्छन्, ‘जमिनमुनि खानेपानी तथा ढलका पाइपहरूको जडान ‘वाटर टाइट’ र ‘सिल’ गरेको हुनुपर्दछ ।’
भूगर्भविद् तथा इन्जिनीयर डा. ज्ञानेन्द्रलाल श्रेष्ठ खानेपानी तथा ढलको पाइपबाट पानी चुहिएर त्यसले त्यहाँका माटो, बालुवा, सिमेन्टलगायतका वस्तु बगाउँदा खाली ठाउँ बन्छ र माथिबाट गुड्ने सवारीसाधन वा अन्य भारीले सडक भासिने वा भड्गालो पर्ने गरेको बताउँछन् । डा. श्रेष्ठले सडक भासिनु वा भड्खालो पर्नुको अर्को कारण जमिनमुनिको पानीको दोहन नै रहेको बताए ।
उनी भन्छन्, ‘जमिनबाट ठूलो मात्रामा पानी निकाल्दा त्यसको वरिपरिको जमिनमा पानीको सतह घट्दै जान्छ । जमिनमुनि रहेका ससाना प्वालहरूले पानी रहेको बेलामा माटो र पानी मिलेर माथिको भार लिइरहेको हुन्छ तर पानी तल जान थालेपछि माटोको बीचबीचमा रहेको हावालाई माथिको भारले थिच्ने गर्दछ जमिन भासिने गर्दछन् ।’
अर्का भूगर्भविद् रामहरि शर्माले प्राकृतिक रूपमा रहेको जमिनको सतहलाई यथास्थितिमा राख्न जमिनमुनिबाट निकालिने पानी र जमिनमा छिर्ने पानीबीच सन्तुलन हुनुपर्ने बताए । निकालिने पानी र छिर्ने पानीको मात्रा बराबर भएको अवस्थामा मात्र प्राकृतिक रूपमा रहेको जमिनको सन्तुलन कायम रही जमिन यथास्थितिमा रहनसक्ने उनको बुझाइ छ ।
पानी जति मात्रामा जमिनमा गएर बस्यो त्यति मात्र तानियो भने जमिनको प्राकृतिक सन्तुलन कायम रहिरन्छ तर अहिले धेरै तानिने र थोरै ‘रिचार्ज’ भइरहेको अवस्था छ । जमिनको प्राकृतिक सन्तुलन कायम गर्न मुख्य उपत्यकाको हकमा अहिलेको अवस्थामा जमिनबाट पानी तान्ने कम र बढी ‘रिचार्ज’ हुने अवस्थाको सिर्जना गर्नुपर्ने शर्माको सुझाव छ । गोरखापत्रमा खबर छ ।