२४ जेठ २०८३, आइतबार

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुनै योजना छैन : माधव नेपाल

कात्तिक १२, २०७८
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुनै योजना छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक गर्ने प्रस्ताव अघि सारेका छन् । 

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पोखरामा शुक्रवार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले तीनै तहको निर्वाचन एकै पटक गराउँदा राज्यको व्ययभार कम हुने बताए । एकै पटक निर्वाचन गराउन कानुनमा के छ, त्यसबारे कानुनविद्सँग सल्लाह गरेर अघि बढ्न सकिने पनि उनको भनाइ छ ।

‘अर्ली इलेक्सन’ हुन लागेको हो ? भन्ने पत्रकारको जिज्ञासामा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एस) का अध्यक्ष नेपालले भने, ‘अर्ली इलेक्सन सम्भव छैन, मिले तीनै तहको चुनावमा एकै पटक गर्न गठबन्धनमा छलफल गर्नेछु ।’

उनले आगामी निर्वाचनपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने टिप्पणी गरे । उनले अगाडि भने, ‘बालुवा पेलेर तेल आउँदैन । १० भाइको हरिबिजोग आउँछ ।’

उनले कम्युनिष्ट पार्टीको विरासत आफूहरूले बोकेको दाबी गर्दै पुष्पलालको पार्टीको निरन्तरता भएको बताए । उनले आफ्नो पार्टीको पक्षमा जनलहर बढिरहेको दाबी गर्दै एमाले आगामी निर्वाचनमा सबैभन्दा पछि पर्ने बताए । उनले एमाले अध्यक्ष केपी ओलीलाई कम्युनिष्ट पार्टी मन नपर्ने भएकोले आफ्नै विधि निर्माण गरेको र त्यहाँ बस्नेको भविष्य नै अन्धकार हुने टिप्पणी गरे । 

यसैगरी, नेता नेपालले न्यायालयले देशलाई अप्ठ्यारो परेको बेला सही निर्णय गरेकाले न्यायालयभित्रको विवाद पनि छिट्टै मिलाउने पनि दाबी गरे । उनले भने, ‘न्यायालयको विवादको समाधान न्यायालयले नै गर्छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुनै योजना छैन । ’

न्यायालयको विवादको निकासको बारेमा के छलफल भएको छ भन्ने पत्रकारको जिज्ञासामा उनले यसबारे आफूले केही नबुझेको प्रष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्