
गुल्मी, ८ असार - गाई काटेर खाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रुरु गाउँपालिका ५ बम्घा सौरकोटका ५२ बर्षिय डम्बर सार्की, ६३ बर्षिय सन्त बहादुर नेपाली र उनका छोरा २६ बर्षिय अम्मर बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति पौने आठ बजे उनीहरुले मिलेर गाई काटेका श्रृङ्गा प्रहरीचौकी इन्चार्ज मुक्ती प्रसाद पुनले बताए । घरमा श्रीमति नभएको बेला डम्बरले गाई लिएर अम्मरको घर लगेका थिए ।
गाउँमा एक मगर घरमा बाच्छी दान गर्ने भनेर श्रीमतीलाई ढाटेको र अम्मरको नजिक लगेर काटेको प्रहरीले जनाएको छ । गाई काटेको थाहा पाएपछि डम्बरकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।
घटनाको मुचुल्का तयार पारेर प्रहरीले डम्बर र सन्तलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक सत्य नारायण यादवले बताए ।
कसुर ठहरिएमा उनीहरुलाई मुलकी ऐन २०२० को चौपाय सम्बन्धि महलको ११ अनुसार १२ बर्षे कैद सजाँय हुने कानुनी व्यावस्था रहेको उनले बताए ।
उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।