
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले टोकियो पारालिम्पक– २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रवार नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
टोकियो पारालिम्पकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशा मुख्य ‘ड्र’ को पहिलो खेलमा बेलायतकी खेलाडीसंग पराजित भएकी थिइन् ।
रिपाचेजमा पुनः अवसर पाएकी पलेशाले पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाकी खेलाडीलाई हराउदै कांस्य पदकनजिक पुगेकी थिइन् । कांस्य पदकको भिडन्तमा पलेशा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।
पलेशासंगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भए । २०१५ देखि पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन सुरु गरेका अन्तर्राष्ट्रिय लेभल २ प्रशिक्षक लामा र विष्टलाई जनही ५१ हजार नगद प्रदान गरियो ।
संघीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरुलाई पाटन माविमा आयोजित एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरे । सोही अवसरमा पलेशाको प्रशिक्षणका बेला फिजियोथेरापिस्ट रहेकी नेहा शाह, नेपाली पारा तेक्वान्दोमा योगदान पुर्याए वापत जनार्जन ढुंगेल र हाल क्यानाडामा रहेका पूर्व पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
आईओएफटीसीको आईओएफटीसी टिम नेपालमार्फत सबैलाई सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पारा खेलाडीको स्तर बृद्धिका लागि नेपाल पारा ओलम्पिक कमिटीले अझ सक्रिएता बढाउनु पर्नेमा जोड दिए ।
पलेशाले पदक नजिते पनि आफ्नो प्रदर्शनबाट देशवासीलाई हर्षित तुल्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पदकका लागि अझ बढी मिहिनेत गर्ने बताइन् ।
आईओएफटीसी अमेरिकाको मिचिगनमा
सम्मेलनमा अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औं संस्करण अमेरिकाको मिचिगनमा हुने जानकारी दिइयो ।
आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो संघले आयोजना गर्न लागेको प्रतियोगिता मे १३ देखि १४ तारिखसम्म हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले जानकारी गराए ।
यसअघि प्रतियोगिता २०२० को मे १ र २ तारिखका लागि मिचिगनमै हुने तय भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण स्थगित गरिएको थियो । उक्त प्रतियोगिताका लागि नेपालबाट सहभागी हुने ५ खेलाडी समेत छनोट गरिएको थियो ।
‘नयाँ छनोट गर्ने वा तिनै खेलाडीलाई सहभागी गराउने भन्ने विषयमा टुंगो लागेको छैन । उनीहरुको ट्रेनिङको अवस्था बुझ्छौं अनी छलफल गरेर निर्णय गर्छौं,’ संयोजक गोर्खालीले भने ‘छनोट गरेको लामो समय भएकाले सक्भर नयाँ छनोट गर्नेमै हाम्रो जोड हुने छ ।’
प्रतियोगितामा २० राष्ट्रका ६ सय भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र १ सय ३० कांस्यका लागि प्रतिस्पर्धा हुने छ । ३ पुरुष र २ महिला गरी नेपालबाट ५ खेलाडीलाई सहभागी गराइने छ ।
विगतका १२ संस्करण मध्ये अमेरिकामा ५, नेपालमा ४ तथा भारत, बेलायत र हङकङमा १–१ पटक प्रतियोगिता भएको थियो । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने छ ।