२९ असार २०८३, सोमबार

माधव नेपालप्रति ओलीको टिप्पणी : एमाले बिगार्न हातमा टोपी लिएर देश दौडाहामा छन्

कात्तिक १३, २०७८
माधव नेपालप्रति ओलीको टिप्पणी : एमाले बिगार्न हातमा टोपी लिएर देश दौडाहामा छन्

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल एमाले बिगार्न देश दौडाहामा रहेको टिप्पणी गरेका छन् । 

एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले चाडपर्वको अवसर पारेर आज चावहिलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले बिगार्न माधव नेपाल देश दौडाहामा रहेको बताएका हुन् । 

‘माधव नेपाल हातमा टोपी लिएर एमाले बिगार्न देशभर कुदिरहेका छन् । कहिले पोखरी, कहिले धनकुटा, कहिले धनगढी पुगेका छन् । त्यो किन थाहा छ ? समाजवाद ल्याउन होइन, नेकपा एमालेलाई बिगार्नका लागि दौडिइरहेका छन्,’ ओलीले भने ।

अरू पार्टीका नेताहरू देश बनाउन भन्दा पनि आफू बन्नका लागि राजनीति गरिरहेको आरोप ओलीले लगाएका छन् ।

अरू दलका नेताहरूलाई आफूलाई अवरोधको रुपमा देखेर धारे हात लगाएर सराप्ने गरेको पनि ओलीले बताए । 

उनले भने, ‘म अस्पताल गएँ भनेपछि यिनिहरुको चेहेरा उज्यालो हुन्छ । सय वाटको बत्ती बालेजस्तो हुन्छ । अस्पतालबाट डिस्चार्ज भयो भनेपछि उनीहरूको मुहार झ्याप्प बत्ती निभेकोजस्तो हुन्छ ।’

‘१० बुँदे माधव नेपालका लागि बनाइएको महल, अब काम छैन’

एमालेको १० बुँदे सहमति माधव नेपाललाई एमालेमै राख्नको लागि गरिएको भए पनि अहिले त्यसको औचित्य नरहेको ओलीले दोहोर्‍याए । 

 


‘माधव नेपालका लागि विभिन्न गेट र महल बनाइयो । १० बुँदे, जेठ २ सुन्नुभयो होइन ? यो सबै गेट महल माधव नेपालका लागि बनेका थिए । फर्किने ठाउँ चाहियो भनियो । लौ त ठाउँ बनाउ भनेर गरियो । बनाएपछि उनले मानेनन्,’ ओलीले भने, ‘अब यो हाम्रो मात्रै प्रतिबद्धता हो । सिर्जनात्मक ढंगले प्रयोग गर्छौं । जेठ २ मा आवश्यकताअनुसार फर्किन्छौं । जरुरी छैन भने फर्किँदैनौँ पनि । पार्टी एकताको लागि यी सबै काम गरिएको हो ।’  

‘चुनावमा शतप्रतिशत जीत निकाल्नु, सापकोटालाई हराउनु’

कार्यक्रममा ओलीले सिन्धुपाल्चोकबाट आगामी निर्वाचनमा संसदीय र स्थानीय तहको निर्वाचनमा शतप्रतिशत जीत निकाल्न निर्देशन पनि दिए ।

‘केन्द्रीय संसदको दुवै सिट, प्रदेशमा चारवटै सिटमा एमालेले जित्नुपर्छ । स्थानीय तहका सबै प्रमुख र वडाध्यक्ष र सदस्यहरू एमालेले जित्नुपर्छ । त्यसअनुसारको तयारीमा लाग्नुहोला,’ ओलीले भने । 


सिन्धुपाल्चोकबाट अग्नि सापकोटा कुनै पनि हालतमा चुनाव जितेर आउन नहुने ओलीको भनाइ थियो । 

सापकोटाले संवैधानिक जिम्मेवारी पूरा नगरेको र सभामुख हुँदा पनि राजनीतिक दलको कार्यकर्ताको रुपमा काम गरेकाले उनलाई आगामी चुनावमा जित्न दिन नहुने ओलीले बताए ।

‘अग्नि सापकोटाजस्तो कलंकित मान्छे सिन्धुपाल्चोकबाट चुनाव जितेर संसदमा आउन हुन्छ ? कुनै हालतमा हुँदैन । संवैधानिक परिषदको बैठकमा पार्टीको निर्देशनअनुसार अनुपस्थित हुने । एमाले विभाजन गर्न भूमिका खेल्ने व्यक्तिलाई चुनावमा जित्न दिनै हुँदैन,’ ओलीले भने । 

salt training

कमेन्ट गर्नुहोस्