
कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।
गृहमन्त्रीसमेत रहेका उनले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानूनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानून मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे ।
खाणले सो पार्टीका एउटै बन्दीलाई ६–७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरूलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरूसँग छलफल भइरहेको जानकारीसमेत दिए ।
उनले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन बिताइरहेकाहरूको संख्या यकीन गर्ने काम सरकारले गरिरहेको बताए ।
सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘सरकार सबै राजनीतिक पार्टीहरूसँग संवाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएरै शान्ति स्थापना गर्न प्रतिबद्ध छ,’ उनले भने ।