
प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्रीको विश्वासको प्रस्तावविरुद्ध मतदान गर्ने निर्णय गरेको छ ।
पाँच दलीय गठबन्धनको बसेको बैठकले मुख्यमन्त्री भीमप्रसाद आचार्यको सरकार ढाल्न विपक्षी गठबन्धनले यस्तो निर्णय गरेको हो ।
गठबन्धनले भोलि (सोमवार) मुख्यमन्त्रीले लिने विश्वासको मतलाई विफल बनाई गठबन्धनकै नेतृत्वमा सरकार बनाउने समेत निर्णय गरेको छ ।
विपक्षमा गठबन्धनका सबै प्रदेश सांसदले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । गठबन्धनमा मतभेद नभएकोले केन्द्रको निर्णय मान्ने समेत उनले बताए ।
आधा–आधा कार्यकालको विषयमा पार्टीभित्र संघर्ष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार गठन गर्ने तयारी रहेको उनको भनाइ छ ।
गत कात्तिक ७ गते विश्वासको मत लिने बताइए पनि कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक सार्न माग गरेपछि बैठक स्थगित भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला भ्रमणमा आएको मौका छोपी कांग्रेसले देउवालाई चुनौती दिन बैठक सार्न निवेदन दिएको थियो ।
कांग्रेस पार्टीभित्रको राजनीतिक अन्तरविरोधले प्रदेश १ सभाको बैठक कात्तिक ७ गते सूचना टाँसेर कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।
९२ सदस्यीय प्रदेश सभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् ।
एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले कीर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । राप्रपा भने कतै खुलेको छैन ।