०३ असार २०८३, बुधबार

सुनसरीका कुम्भकार समुदाय माटाका भाँडा बनाउन व्यस्त

कात्तिक १५, २०७८
सुनसरीका कुम्भकार समुदाय माटाका भाँडा बनाउन व्यस्त
प्रतिकात्मक तस्वीर

बिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोही माटो मुछ्छन् त कोही भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन् ।

उनीहरूको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटाका भाँडा सहज रूपमा पुर्‍याउने । 
    
हिन्दूहरूको महान पर्व तिहार तथा छठ आउन केही दिन मात्र बाँकी छँदा सुनसरी सदरमुकाम इनरुवाका मात्र नभई जिल्लाका विभिन्न स्थानमा रहेका कुम्भकार अर्थात पण्डित समुदायका मानिस अहिले माटाबाट निर्माण हुने भाँडा बनाउने काममा व्यस्त भएका छन् । 

सदरमुकाम इनरुवा, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज लगायत स्थानीयतहमा रहेका कुम्भकार अर्थात पण्ति समुदायका मानिसले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटाका भाँडा बनाउने काममा व्यस्त भएको इनरुवा–२ का श्रीप्रसाद पण्डितले बताए ।

कुम्भकार समुदाय दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटाका घैंला, दियो सहितका विभिन्न किसिमका भाँडाकुडा बनाउने काममा व्यस्त भएका छन् । माटाका भाँडा बनाउन काँचो कुमाले माटाको प्रयोग हुने गरेकाले २ हप्ता अगाडिबाट नै माटोको जाहो गर्ने गरिएको छ । १ महिना अगाडिसम्म वर्षाका कारण माटो ल्याउन नसकिएकाले भाँडा बनाउनमा ढिलो हुने भएका कारण आफू अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय देवनारायण पण्डितले बताए ।

नजिकमा भाँडा बनाउने माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी भाँडा बनाउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको उनी बताउँछन् । दिपावली तथा छठ पर्व आउन केही दिन मात्र बाँकी रहेकाले वर्षाका कारण माटाका भाँडा तयार गर्न नसकिएको स्थानीय सियाराम पण्डितले बताए ।

पण्डित अर्थात कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुडा बनाउने रहेका कारण सो कार्यक्रमा व्यस्त बनेको उनीहरूको भनाइ छ । माटाका भाँडा बनाइ गाउँघरदेखि शहर बजारसम्म पुर्‍याउनुपर्ने भएकाले उक्त समुदाय भाँडा निर्माण गर्न सरिक हुने गरेको बताइएको छ ।

आफूहरूले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिन अगाडिदेखि नै गरे पनि निकै चुनौती रहेको उनीहरूको भनाइ छ । माटो ल्याउन र अन्य कार्य गर्न चुनौतीको सामना गरे पनि राज्य पक्षले आफूहरूलाई उपेक्षा गरेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्