उत्तर–दक्षिण करिडोर अन्तर्गतको कर्णाली करिडोरमा चालू आवमा ५ पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ ।
हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा ५ पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।
हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल ४ पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए ।
पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको हो । उनले भने, ‘यी पुल बनेपछि पनि स्थानीयलाई आवतजावतमा सजिलो हुनेछ ।’
यसअघि नै खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा २ बेलिब्रिज राख्नका लागि ठेक्का भई सम्झौता भइसकेको छ । तत्काल पुल आवश्यक भएकामा बेलिब्रिज राखिने भए पनि कर्णाली नदीको वहाब कम नभएसम्म राख्न नसकिने प्रमुख लामाले बताए ।
नदीको सतह घट्नासाथ मंसिरको पहिलो सातासम्म बेलिब्रिज निर्माणस्थल पुर्याउने लक्ष्य लिइएको छ । करिडोरमा निर्माण गर्नुपर्ने स्याम्ने, लाली, सुनाखडा, गोठी, न्यासी र सरिसल्ला पुलका लागि समेत बजेट विनियोजन भइसकेको छ । सो पुलको डिजाइन एण्ड बिल्ड विधिबाट मंसिरको अन्तिमसम्ममा ठेक्का गर्ने तयारी भइरहेको छ ।
सरिसल्लाको कर्णाली नदीमा पक्की पुल नबनेसम्म फेरि (गाडी वारपार गर्ने डुंगा) समेत राखेर यातायात सञ्चालन गरिने प्रमुख लामाले बताए । राष्ट्रिय गौरवको कर्णाली करिडोरको निर्माण सम्पन्न हुने क्रममा हुँदा पुल निर्माण पनि अघि बढाउन लागिएको हो ।
कूल १४५ किमी लम्बाइको करिडोर हाल १० किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । हिमाली जिल्ला भएकाले हिउँदमा काम गर्न कठीन भएको योजनाले जनाएको छ । कठीन भूगोलका कारण सडक विभागले ७ किमी सडकको ट्रयाक खोल्न सेनालाई जिम्मेवारी दिएकामा तिहारलगत्तै काम शुरू गर्ने बताइएको छ ।