
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजले अनुभूत गर्ने गरी नतिजामुखी काम गर्न मन्त्रालय र मातहत निकायलाई निर्देशन दिएका छन् ।
आमजनताले मन्त्रालयबाट योजना कार्यक्रम र विचार मात्रै होइन, त्यसअनुरूपको परिणामको अपेक्षा गरेको भन्दै मन्त्री कार्कीले मुलुकवासीको भावनालाई जोड्नका निम्ति युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
सञ्चार मन्त्रालयद्वारा मंगलवार आयोजित चालू आव २०७८/०७९ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सञ्चारमन्त्री कार्कीले अर्को समीक्षा बैठकमा परिणाम देखिने गरी उत्साह, इमान्दारी र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे ।
उनले भने, ‘सरकारले कामको मूल्यांकन गर्छ अब, हामी १०–५ को कार्यालय समय ‘ड्युटी’ हैन हामीले आफ्नो लिएको जिम्मेवारीलाई पूरा गर्नका निमित्त केही समय पूरै समय ‘फुल टाइम’ दिऊँ । यो हाम्रो देश र सन्ततिका निमित्त हुनेछ, आत्मसमीक्षा र मूल्यांकन गरी कार्ययोजनाका साथ अघि बढौं, त्यसका निमित्त म सधैं तपाईंहरूको साथमा रहनेछु ।’
सञ्चारमन्त्री कार्कीले अहिले विश्व ग्लोबल भिलेजका रूपमा विकास भएको भन्दै हामीले पनि मुलुकवासीको भावनालाई जोड्न सञ्चार र सूचनाको क्षेत्रमा युद्धस्तरमा काम गरेर हिमाल, पहाड र तराईमा बस्ने जनतालाई प्रत्याभूत गराउन सक्नुपर्नेमा जोड दिए । ‘अब मलाई पनि छुट छैन । तपाईंहरूलाई पनि छुट छैन । जिम्मेवारीलाई पन्छाएर कामलाई विलम्ब गर्ने छुट हामी कसैलाई छैन । यदि हामी परिणाम दिन सक्दैनौं भने ओहोदामा बस्नुको औचित्य पनि छैन,’ सञ्चारमन्त्री कार्कीले भने, ‘निकै काम भएकामा हामी सन्तोष गर्न सक्छौं तर अहिले सन्तोष गर्ने बेला हैन, हामीले परिणाम देखाउने बेला आएको छ, सवाल र समस्याको पहिचान भइसकेकाले समाधानतर्फ ध्यान दिऊँ ।’