२८ जेठ २०८३, बिहीबार

एमाले महाधिवेशनको चुनावमा विद्युतीय उपकरणको प्रयोग, ३ घण्टामा मतगणनाको नतिजा आउने

कात्तिक १७, २०७८
एमाले महाधिवेशनको चुनावमा विद्युतीय उपकरणको प्रयोग, ३ घण्टामा मतगणनाको नतिजा आउने

नेकपा एमालेको १०औं महाधिवेशनले विद्युतीय उपकरणमार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ ।

मतदानका लागि १०० विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । 

महाधिवेशन मूल आयोजक समितिका सहसंयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरणमार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए । यसबाट ३ घण्टाभित्रमा नतिजा आउने छ ।

उनले भने, ‘मतदानपछि प्रिन्ट गर्‍यो भने ३ घण्टा लाग्छ भनिएको छ । क्यूआर कोडबाट भयो भने त्योभन्दा अघि नै नतिजा आउँछ ।’

विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताए । पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ । यसमध्ये १५ पदाधिकारी छन् । उनका अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र सचिव ७ रहने व्यवस्था छ ।

महाधिवेशनमा अहिलेसम्मका अवस्थामा २ हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ । महाधिवेशनमा ५ लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनाइएको छ । 

सौराहामा करीब ३ हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवन सारिएको हो । महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्