
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले बुधवार डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिरोबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे । निरीक्षणका क्रममा गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा जन्मेको गाउँ रुवाखोला समेत पुगेर पहिरोबाट पुगेको क्षतिबारे जानकारी लिए ।
सोही अवसरमा गृहमन्त्री खाँणले बाढीपहिरो पीडितलाई चाँडै राहतको व्यवस्था गरिने अश्वासन दिलाए । उनले पीडित जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
हालैको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी डडेल्धुरामा ३ जनाको मृत्यु भएको थियो । धनमालको ठूलो क्षति पुगेको थियो ।
गन्यापधुरा–१ मा मात्रै १ अर्बभन्दा बढीको क्षति भएकोे विवरण पेश गरिएको छ । पर्तोल गाउँमा मात्रै दर्जन बढी घर पहिरोको जोखिममा छन् । जोखिममा रहेका स्थानीयले आफूहरूका बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन् । गाउँपालिकामा मात्रै बाढीपहिरोबाट २५० घरधुरी जोखिममा रहेको बताइएको छ ।
गृहमन्त्री खाँणले बुधवार सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।