२६ असार २०८३, शुक्रबार

बङ्गुरपालनबाट वार्षिक १८ लाखसम्म आम्दानी, जिल्लाकै सफल व्यवसायी बने गौरव

कात्तिक २४, २०७८
बङ्गुरपालनबाट वार्षिक १८ लाखसम्म आम्दानी, जिल्लाकै सफल व्यवसायी बने गौरव
फाइल तस्वीर

इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका पर्वतका एक युवाले बङ्गुरपालन व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन्।

कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनबाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थालेका हुन् ।

“आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बङ्करमा लुक्न पठाउँथ्यो । त्यही आक्रमणमा परेर कति साथी त मारिए”, उनले भने, “मौकाले बाँचियो । बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि नेपाल फर्किएको हुँ ।”

तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उनको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो । खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उनले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बङ्गुरपालन व्यवसाय शुरू गरेका छन‍् । गौरव जिल्लाकै सफल बङ्गुरपालन व्यवसायीका रूपमा चिनिन्छन् ।

सात वर्षदेखि यो व्यवसायमा लागेका उनले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिए। इराकमा मासिक रु ७० हजार कमाउने उनले बङ्गुरपालनबाटै मासिक रु डेढ लाख बचत गर्दै आएका छन्।

अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फर्किएका उनले बङ्गुरपालनबाट सोचेभन्दा राम्रो प्रगति गरेका हुन् ।

“कतिबेला मरिने हो भन्ने जगजगीबीच बसेर कमाएको धनभन्दा सुख र शान्तिले आफ्नै देशमा जति हुन्छ त्यही कमाइ मिठो सोचेर देश फर्किएँ”, उनले भने, “मैले यहाँ कोरियाली प्रविधि प्रयोग गरेर फरक तरिकाले बङ्गुर पालिरहेको छु । बजारको माग धान्नै सकेको छैन ।”

समाजमा केही जातलाई बङ्गुर पाल्न नहुने जातका रूपमा हेरिन्छ । ब्राह्मण, क्षेत्री समुदायमा त सुँगुर/बङ्गुर छुनै हुँदैन, छोएमा जात जान्छसमेत भनिन्छ । यस्तो सोच राख्ने समाजमा बसेर बङ्गुर पाल्नु उनका लागि सहज कहाँ थियो र ? तर आफैँले काम शुरू नगरेसम्म अरूको मानसिकतामा परिवर्तन ल्याउन असम्भव ठानेका उनले सामाजिक चुनौतीकै बीच बङ्गुर पाल्न लागेका हुन् ।

सात वर्षका अवधिमा उनले फार्ममा झण्डै रु एक करोड लगानी गरेका छन् । यद्यपि अझै पनि उनलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ । व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उनको यो पेशाबाट सन्तुष्ट छैनन् ।

“मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेक्नुभएको छैन । आक्कलझुक्कल आमा आउन थाल्नुभएको छ तर उनले अहिले पनि यो काम नगर अरू केही गर भन्नुहुन्छ”, उनले भने, ‘काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि !”

उनको आँट र व्यावसायिकतालाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७७/७८ मा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट बङ्गुरको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रमबाट रु तीन लाख ५० हजार अनुदानसमेत आएको थियो ।

उनले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै बङ्गुरलाई रु ८५ हजारमा बिक्री गरेका छन् । बजारमा उत्पादन हुने फोहोर उठाएर बङ्गुरलाई आहार दिने गरेका उनले आजभोलि फोहोरलाई कम गरेर दाना खुवाउन थालेका हुन् । यही कारण रु चार हजारमा बेच्ने गरेको एउटा पाठाको मूल्य रु पाँच हजार ५०० पुगेको छ ।

उनले बजारको मागअनुसार धेरै उत्पादन गर्न नसकेको बताए । उनले मासुका लागि भन्दा पनि पाठापाठी जन्माउन माउ बङ्गुर राखेका छन् । एउटा माउ चार÷पाँच बेत ब्याएपछि मात्र मासुका लागि बेच्ने गरेको बताए ।

उनको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बङ्गुर छन् । माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा छ । मागअनुसार उत्पादन गर्न सके निकै राम्रो आम्दानी हुने क्षेत्रीको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि सबै नेपालीले रोजेको र खोजको जस्तो काम विदेशमा नपाउने भएकाले जस्तो काम पाइन्छ उस्तै काम गर्नुपरेको गौरवको अनुभव छ ।

विदेशमा रहेका नेपालीले बङ्गुर फार्ममा पनि काम गरिरहेको बताउँदै व्यवसायी क्षेत्रीले विदेशमा जस्तो फोहोरमा पनि काम गरेर आम्दानी गर्न तयार हुने नेपालीले त्यही काम आफ्नो देशमा गर्न लजाउने गरेको बताए। रासस
 

salt training

कमेन्ट गर्नुहोस्