
रौतहटको गौर नगरपालिका-४ गढवा टोलस्थित गौर-चपुर सडकखण्डमा रोकी राखेको ना ६ ख ५९४३ नम्बरको ट्रकबाट १८६ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ट्रक चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९ वर्षीय रित्तम तामाङ रहेका छन् ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रक जाँच गर्ने क्रममा ट्रकको चेसिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले बेरेको १२ पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।