
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नआएसम्म जारी आन्दोलन नरोक्ने निर्णय गरेको छ । आइतवार सर्वोच्च अदालत परिसरमा झण्डै डेढ घण्टा धर्नापछि बारको पांगणमा आयोजित कार्यक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताएका हुन् ।
‘उहाँले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छौं । चोलेन्द्रको राजीनामापछि अदालत सुधारको दोस्रो अध्याय हो । आन्दोलनको रुप फेरिएर अझ सशक्त बन्छ तर प्रधानन्यायाधीशको राजीनामा नभए आन्दोलन रोकिँदैन,’ श्रेष्ठले भने ।
पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीशको कुर्सी छुनु पनि अन्याय हुने बताए । ‘हामीले राजीनामा गर्नुस् भनेर भन्यौँ, अब तपाईंले त्यो कुर्सी छुनु पनि अन्याय हुन सक्छ,’ कार्कीले भने ।
वरिष्ठ अधिवक्ता कार्कीले बारको आन्दोलनका कारण सर्वोच्चमा मुद्दा रोकियो भनेर भ्रम छर्न खोजिएको बताए । ‘मुद्दा रोकियो भनेर भ्रम पारिएको छ, उहाँको थुप्रै पेशी तोकिएको छ, कसैले रिसर्च गरेर हेरे हुन्छ । उहाँले चाहेको मुद्दा सुनुवाइ हुन्छ अरू स्थगित हुन्छ,’ कार्कीले भने ।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले आफूहरूको बटमलाइन नै प्रधानन्यायाधीशको राजीनामा रहेको बताए । ‘उहाँलाई कुनै भूमिका दिने कुरामा सहमति छैन, मान्यता होइन,’ शाक्यले भने ।
बारले प्रधानन्यायाधीशलाई रोक्न भन्दै आज पनि सर्वोच्च अदालतभित्र धर्ना दिएको थियो । बारको विरोधका बाबजुद प्रधानन्यायाधीश जबरा भने सर्वोच्च छिरेका छन् ।