२७ जेठ २०८३, बुधबार
बारको अडान

चोलेन्द्रसँग वार्ता नगर्ने बारको जवाफ, राजीनामा नआएसम्म विरोध जारी रहने

कात्तिक २९, २०७८
चोलेन्द्रसँग वार्ता नगर्ने बारको जवाफ, राजीनामा नआएसम्म विरोध जारी रहने

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता नगर्ने अडान लिएको छ ।

न्यायपालिकामा विकृति तथा विसंगतिको नाइके र संरक्षक नै जबरा रहेकाले उनीसँग कुनै वार्ताको औचित्य नभएको बारले बताएको छ । 

सर्वोच्च अदालत परिसरमा भएको धर्नापछि बार प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशसँग वार्ता नहुने बताएका हुन् । 

‘तपाईंसँग वार्ता हुँदैन, राजीनामा गर्नुस् । बाँकी न्यायाधीश र सरोकारवालासँग वार्ता गर्छौं,’ श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठले न्यायपालिकामा देखिएका विसंगतिको प्रवक्ता र पक्षपोषकको रूपमा उभिएका प्रधानन्यायाधीशको राजीनामा मुख्य शर्त रहेको बताए । 

श्रेष्ठले प्रधानन्यायाधीशको वक्तव्यको जवाफ लिखित रूपमै दिने पनि बताएका छन् । 

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बारको धर्ना यथावत रहने बताए । ‘न्यायपालिकाको विकृति विसंगतिको कारक प्रधानन्यायाधीश भनेर प्रवेश निषेध गरेको भनेपछि उहाँसँग वार्ता गर्ने सम्भावना छैन । पद त्याग गरेपछि अब आउने नेतृत्वसँग न्यायपालिका सुधारका लागि वार्ता हुन्छ,’ शाक्यले भने । 

उनले बारको धर्ना कार्यक्रम यथावत चलिरहने र धर्नामा सहभागी हुन ९० वटै बार इकाइलाई आह्वान गरिने बताए । 

यसअघि सोमवार प्रधानन्यायाधीश जबराले वक्तव्य प्रकाशित गरी नेपाल बार र सर्वोच्च बारलाई वार्तामा आउन आग्रह गरेका थिए । 

प्रधानन्यायाधीशको राजीनामा माग गरेको बारले उनलाई सर्वोच्चमा प्रवेश रोक लगाउने भन्दै शुक्रवारदेखि सर्वोच्चको गेटमा धर्ना दिइरहेको छ । 

धर्ना मंगलवार पनि जारी रहने बार अध्यक्ष श्रेष्ठले बताए । 

salt training

कमेन्ट गर्नुहोस्