
अफगानिस्तानको राजधानी काबुलमा सोमवार तालिबान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् ।
पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट(ए(साङ्गी इलाकामा रहेको विवाह हल नजिकै बिहान भीडभाडको समयमा विष्फोट भएको प्रत्यक्षदर्शी मोहम्मद नाबीले बताएका छन् ।
‘विष्फोटको प्रकृति हेर्दा टाँसिने खालको बम आक्रमण थियो जुन तालिवानको गाडी त्यहाँबाट गुडिरहेको समयमा विष्फोट भएको थियो,’ उनले भने । उक्त घटनामा गाडीमा सवार कुनै तालिबान सदस्य प्रभावित भए नभएको भने यकिन हुन सकेको छैन । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
काबुलले अगस्टको मध्यमा तालिबानले देश कब्जा गरेपछि अफगान कार्यवाहक सरकारको विरूद्ध इस्लामिक स्टेट (आईएस) सँग आबद्ध लडाकुहरूले शृङ्खलाबद्ध आतंककारी हमलाहरू भोगिरहेको छ ।
शनिवार पश्चिमी काबुलमा सार्वजनिक मिनिबसमा जोडिएको बम विष्फोट हुँदा एक पत्रकारको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए ।